Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रास्वपा निर्वाचन लक्षित केन्द्रीय वाचापत्र निर्माणको तयारी

रास्वपा निर्वाचन लक्षित केन्द्रीय वाचापत्र निर्माणको तयारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै आफ्नो केन्द्रीय वाचापत्र निर्माणको तयारीलाई तीव्र बनाएको छ। पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरिएको केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै तहबाट सुझाव सङ्कलन गर्ने प्रक्रिया अघि बढाएको प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार सुझाव सङ्कलनका लागि आज साँझ भर्चुअल माध्यम जुम मार्फत बैठक आयोजना गरिएको छ। कार्यदलमा डा. वाग्लेसँगै केन्द्रीय सदस्य डा. अरनिको पाँडे, डा. नन्दन यादव र क्रान्तिशिखा धिताल रहेका छन्।

यसैबीच, पार्टीले निर्वाचनसँग सम्बन्धित राजनीतिक गतिविधि पनि तीव्र बनाएको छ। अधिवेशन, सङ्गठन विस्तार र समानुपातिक प्रणालीमार्फत उम्मेदवारी दिने आह्वान गर्दै, प्रारम्भिक निर्वाचन व्यवस्थापनका लागि अडिट समितिले काम सुरु गरेको छ। समितिले उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण पक्षलाई तथ्यपरक रूपमा मूल्याङ्कन गर्ने बताएको छ।

त्यस्तै, आगामी निर्वाचन केन्द्रित तालिमका लागि केन्द्रीय प्रशिक्षण विभागले अनलाइन कार्यक्रम सञ्चालन गरेको छ। जिल्लास्तरीय भेला, पूर्व उम्मेदवारहरूसँग छलफल र सङ्गठन सुदृढीकरण कार्यक्रम पनि निरन्तर अगाडि बढाइएको प्रवक्ता झाले बताए।

निर्वाचन तयारीलाई व्यवस्थित बनाउन रास्वपाले राजनीतिक अध्ययन कार्यदल, निर्वाचन रणनीति कार्यदल र सञ्चारमाध्यम अध्ययन कार्यदल गठन गरेको छ। यी कार्यदलले नीति विश्लेषण, रणनीति निर्माण र प्रचार–प्रसार योजनाको कार्यभार सम्हाल्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट