Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

‘शान्ति बजारका ५० घर डुबे, अर्लट हुँदा मानवीय क्षति राक्यौँ’

‘शान्ति बजारका ५० घर डुबे, अर्लट हुँदा मानवीय क्षति राक्यौँ’

काठमाडौँ : गोरखाको आरुघाट गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी र कालो लेदोले त्यस क्षेत्रमा व्यापक भौतिक क्षति पुर्‍याएको छ ।बिहान सबेरै आएको बाढीले आरुघाट क्षेत्रका दुईवटा महत्त्वपूर्ण मोटरेबल पुल बगाउनुका साथै दर्जनौं घरहरू डुबानमा पारेको छ । यद्यपि स्थानीय प्रशासनको सक्रियतामा समयमै पूर्वसूचना प्रवाह गरिएका कारण कुनै पनि मानवीय क्षति भने हुन पाएको छैन ।आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार बाढीले मुख्यगरी दुई वटा पक्की पुल बगाएको छ । ‘आरुघाट बजारबाट धादिङ र गोरखा जोड्ने एउटा मोटररेबल पुल र सोती भन्ने स्थानबाट मान्बु, काशीगाउँतर्फ जाने अर्को पुल पूर्ण रुपमा बाढीको भेलमा बगेका छन्,’ रातोपाटीसँग आरुघाटका अध्यक्षले भने ।

बाढीले बस्तीतर्फ पसेर ठुलो भौतिक नोक्सानी गरेको छ । गुरुङका अनुसार  वडा नम्बर ५ मा पर्ने शान्ति बजार क्षेत्रका करिब ५० वटा घरहरू बाढीको डुबानमा परेका छन् । त्यसैगरी सोतीमा रहेका अन्य १० देखि १५ वटा घरहरूमा क्षति पुगेको छ भने एउटा होटल पूर्ण रुपमा डुबेको छ । धनजनको क्षति नभए पनि भौतिक सम्पत्तिको भने ठुलो नोक्सानी भएको अध्यक्ष गुरुङले बताएका छन् । साढे ४ बजेबाट अर्लट हुँदा मानवीय क्षति हुन पाएनबाढीको त्रास बिहान सबेरैबाट सुरु भएको थियो । अध्यक्ष गुरुङका अनुसार माथिल्लो तटीय क्षेत्रबाट बिहान करिब ५ बजेतिर बाढी आउँदै गरेको खबर प्राप्त भएको थियो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहान साढे ४ बजेदेखि नै सुरक्षाकर्मी र सञ्चारमाध्यमको सहायताले स्थानीय बासिन्दालाई ‘अलर्ट’ गराउँदै सुरक्षित स्थानतर्फ सारिएको थियो । पूर्वतयारी र समयमै सुरक्षित स्थानमा सारिएकै कारण मानिसहरूको ज्यान जोगिएको हो । बाढीको बहाव बढ्दै जाँदा बिहान साढे ७ बजेतिर सोतीको पुल बगाएको थियो भने बिहान १० बजेतिर तल्लो क्षेत्रको अर्को पुल पनि बाढीको चपेटामा परेको थियो ।

अहिले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनको काम तीव्र रुपमा अघि बढाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीको टोली घटनास्थलमा परिचालन भइसकेको छ । केन्द्रबाट समेत थप सुरक्षा बल पुगेको छ । नेपाली सेनाले आरुघाटमा दुई–तीन दिनसम्मका लागि अस्थायी बेस क्याम्प नै खडा गरेर उद्धार र व्यवस्थापनको काम सञ्चालन गर्ने तयारी गरेको छ । बाढीले अस्पताल, विद्यालय र वडा कार्यालय जस्ता सार्वजनिक संरचनामा भने क्षति पुर्‍याएको छैन । विस्थापित भई सुरक्षित स्थानमा जम्मा भएका नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य शिविरमार्फत स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।

पुल बगेपछि सो क्षेत्रमा यातायात आवागमन पूर्ण रुपमा अवरुद्ध भएको छ भने मानिसहरूको दैनिकी कष्टकर बनेको छ । अध्यक्ष गुरुङ आफैं सडक सुचारु गर्न र जोखिम कम गर्न खटिएका छन् । अजुवा खोला आसपासमा थुप्रिएको लेदो पन्छाउन र सोती क्षेत्रलाई थप सुरक्षित बनाउन जेसिभी (स्काभेटर) मेसिनसहित उनी आफैं फिल्डमा पुगेको बताए । स्थानीय प्रशासन, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको बेस क्याम्पसँगको उच्च समन्वयमा विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट