Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बूढीगण्डकी बाढी : ४३७ सुरक्षाकर्मी परिचालित, बेपत्ताको खोजीदेखि राहत ढुवानीसम्मका काम जारी

बूढीगण्डकी बाढी : ४३७ सुरक्षाकर्मी परिचालित, बेपत्ताको खोजीदेखि राहत ढुवानीसम्मका काम जारी

काठमाडौँ : गोरखाको चुमनुव्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबिच ठुलो पहिरो खस्दा बुढीगण्डकी नदी थुनिएर लेदोसहितको ठुलो बाढी आएको छ। बाढीका कारण भौतिक क्षति भएको छ ।चुमनुव्री गाउँपालिका–६, चुम्चेतको उगिलुङ निवासी भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, बेपत्ताको खोजी तथा उद्धार गर्ने र सम्भावित जोखिममा रहेका नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिने कार्य तीव्र पारिएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी कुल ४३७ जना सुरक्षाकर्मी परिचालित भएका छन्। नेपाली सेनाबाट तीन वटा स्पेसल फोर्ससहित १२७ जना, नेपाल प्रहरीबाट १३३ जना र सशस्त्र प्रहरी बलबाट १७७ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।खोज तथा उद्धारका लागि नेपाली सेनाका चार वटा हेलिकोप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्। हेलिकोप्टरमार्फत हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। साथै, विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा नेपाल प्रहरीको ५० जनाको टोलीलाई थप परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।

हालसम्म प्रतिकार्यका लागि भएका कार्यहरुः

१) ई.प्र.का. आरुघाटबाट तत्काल २५ जनाको प्रहरी टोली खटिई नदी तटीय क्षेत्रका मानिसहरुलाई सुसूचित गराई सुरक्षित स्थानमा सारिएको ।
२) सल्लेरीस्थित टाइम्स उर्जा प्रा.लि.का १२ जना कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको ।
३) जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखामा विहान ६:०० बजे बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, चितवनको वेनिघाटसम्मका सर्वसाधारणलाई एसएमएस मार्फत पूर्वसूचना सम्प्रेषण गरिएको ।
४) प्राधिकरणमा विहान ६:०० बजे बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी २२१ जना प्रतिकार्यकर्ता ( Responders) हरुलाई तुरुन्त प्रतिकार्यमा खटिन एसएमएस मार्फत सूचना सम्प्रेषण गरिएको ।
५) विहान करिव ६:३० बजेदेखि प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा प्राधिकरणमा मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक निरन्तर जारी रहेको । बैठकमा बाढीको निरन्तर अनुगमन, अवस्था विश्लेषण र आवश्यक सूचना सम्प्रेषण तथा प्रतिकार्यका लागि सम्बन्धित निकायलाई आवश्यक समन्वय, सहजीकरण तथा निर्देशन दिइएको ।
६) नेपाली सेनाबाट ३ वटा Special Force सहित १२७ जना, नेपाल प्रहरीबाट १३३ जना र सशस्त्र प्रहरी बल, नेपालबाट १७७ गरी ४३७ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित भएको । विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा नेपाल प्रहरीको ५० जनाको टोली तयारी अवस्थामा रहेको ।
७) नेपाली सेनाको ४ वटा हेलिकोप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको । प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा राखिएको ।
८) सडक र हेलीबाट तत्काल अत्यावश्यक राहत सामाग्री ढुवानीको कार्य भएको ।
९) घटनाको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको ३ जनाको टोली परिचालन भएको ।
१०) सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागको महानिर्देशकसहितको टोली सडक संचालन तथा बेलिब्रिज संभाव्यता अध्ययनका लागि खटिएको । 
११)गोरखा, लमजुङ र तनहुँ जिल्लाका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली (RRT ) र प्रदेश अस्पताल गोरखा, तनहुँ र लमजुङका आपत्कालीन चिकित्सकीय टोली (RRT) लाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशद्वारा तयारी अवस्थामा राखिएको ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट