Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

खगेन्द्र सुनारमाथि विवाद चुलियो, तीन मुद्दा अदालतमा विचाराधीन

खगेन्द्र सुनारमाथि विवाद चुलियो, तीन मुद्दा अदालतमा विचाराधीन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छानबिन थालेको छ ।सुनारसँग सम्बन्धित श्रव्य सामग्री र उनीमाथि उडाइएका प्रश्नबारे छानबिन गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिइएको रास्वपाका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।खगेन्द्र २०८२ फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित एकमात्र दलित समुदायका सांसद हुन् । उनी बाँके–३ बाट निर्वाचित भएका थिए । दलित समुदायमाथि हुने विभेदविरुद्ध आफैँले हातखुट्टामा नेल लगाएर उनले माइतीघरको सडकमा उभिएर सङ्घर्ष गरेका थिए ।

दलितमाथि हुने बर्बर पीडाकाविरुद्ध आवाज उठाउने खगेन्द्रले एक महिलालाई मारिदिने र बच्चालाई समेत मार्ने धम्की दिएको अडियोमा सुनिन्छ । सार्वजनिक अडियोबारे राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्री भन्छिन्, ‘हिंसाको पनि हद हुन्छ नि !’राजनीतिमा आउनुअघि पत्रकारिता गर्ने खगेन्द्रको विगत पनि विवादित देखिन्छ । खगेन्द्रविरुद्ध ३ वटा मुद्दा अदालतमा विचाराधीन छन् । दैलेखको नारायण नगरपालिका वडा नम्बर–२ स्थित भैसेखोर घर भएका सुनार यसअघि ३ वटा फौजदारी मुद्दामा संलग्न रहेको प्रहरीको सीआरएस रेकर्डमा देखिन्छ ।

जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा खगेन्द्रलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने तयारी अन्तिम चरणमा थियो । मन्त्री बन्ने सूचीमा उनको नाम सार्वजनिक भएसँगै सार्वजनिक रूपमै उनको विगतलाई लिएर विरोध सुरु भयो । शपथ लिन जानेबेला अदालतमा मुद्दा विचाराधीन भएको तथ्याङ्क भेटिएपछि उनले मन्त्री पद गुमाए ।२०८१ असार ७ मा खगेन्द्रले सुर्खेतस्थित मेहेलकुना अस्पतालमा तोडफोड गरेर स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । अस्पताल प्रमुख डा. सोजन सापकोटाले दिएको जाहेरीअनुसार प्रहरीले अनुसन्धान गरेर अदालतमा पेस गरेको मुद्दा अहिले विचाराधीन छ । २०८१ असार १४ मा दायर भएको मुद्दामा अदालतले खगेन्द्रलाई ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनू’ भदै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो । खगेन्द्र अदालतमा हाजिर भए, तर मुद्दा टुङ्गिएको छैन ।

सुर्खेत प्रहरीले २०८० असार ३ मा खगेन्द्रविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाएको थियो । त्यसबेला उनी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा २० हजार धरौटी बुझाएर छुटेका हुन् ।खगेन्द्रविरुद्ध काभ्रे जिल्ला अदालतमा विद्युतीय (ईलेक्ट्रिक) कारोबार सम्बन्धी कसुरको मुद्दा पनि विचाराधीन छ । मनिषा गौतमले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई मुद्दा चलाएको थियो । काभ्रे जिल्ला अदालतबाट जारी भएको ७ दिने र ३५ दिने पक्राउ पुर्जी तामेल गरेर पठाउन २०८२ साउन ५ मा अदालतले जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्राचार गरेको थियो । २०८२ कात्तिक १३ मा खगेन्द्रले काभ्रे जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका थिए ।

थुनछेक बहसपछि न्यायाधीश नगेन्द्र कुमार कालाखेतीको इजलासले उनलाई ५० हजार धरौटीमा रिहा गरेको थियो । त्यसबेला पनि खगेन्द्रले पीडित महिलालाई फेसबुक लाइभमा आपमानजनक र आपत्तिजनक भाषा प्रयोग गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्धको तीन वटै मुद्दाको अन्तिम फैसला भइसकेको छैन ।

कारबाही होला ?
गत वर्ष अमेरिकामा बस्ने एक जना युवतीले आफू कलाकार सागर लम्साल ‘बले’बाट बलात्कृत भएको भन्दै सामाजिक सञ्जाल (फेसबुक)मा पोष्ट गरिन् । फेसबुकमा लेखेकै भरमा २०८२ चैतमा बलेलाई काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएर हत्कडीमै जिल्ला प्रशासन कार्यालय लगेको थियो । पीडितले बलात्कार सम्बन्धी कसुरमा जाहेरी नदिएपछि बले अभद्र व्यवहारको मुद्दा झेलेर छुटे ।फेसबुकमा लेखेको भरमा कलाकारको हातमा हत्कडी लाग्छ, तर सुन्न नसक्नेगरी महिला र बच्चालाई अपशब्द प्रयोग गर्ने र मार्ने धम्की दिने सांसदमाथि कारबाही हुन्छ कि हुँदैन भन्नेबारे प्रश्न उठेको छ । पीडित महिलाले उजुरी गरेमा कारबाही गर्न सक्ने अवस्था सिर्जना हुने प्रहरीका एक जना उच्च अधिकृतले बताए । उनले भने, ‘अहिले पार्टीले नै छानबिन गरिरहेको अवस्था छ, प्रहरीले अनुसन्धान थाल्न जाहेरी आउनुको विकल्प रहँदैन ।’

सार्वजनिक भएको अडियोेबारे सांसद खगेन्द्रले काल्पनिक मान्छेलाई जोडेर चरित्रहत्या हुनेगरी उस्तै स्वर सुनिनेगरी सो अडियो तयार गरिएको जिकिर गरेका छन् । मंगलबार एउटा भिडियो सार्वजनिक गर्दै उनले आफूले प्रश्न उठाएबापत मिडिया मार्फत आफ्नाविरुद्ध चरित्रहत्या र आक्रमण भइरहेको दाबी गरेका छन् । सार्वजनिक लेखा समितिमा आफूले प्रहरीभित्रको भ्रष्टाचारको कुरा उठाउँदा अहिलेको ‘नियति’ भोग्नुपरेको उनको तर्क छ ।खगेन्द्रले आफ्नो कुनै कमजोरी भेटिएमा सांसद पद त्याग्न तयार रहेको बताउँदै आएका थिए । सार्वजनिक रूपमा उनले भन्ने गरेका थिए, ‘रौँ जत्ति पनि मेरो केही देखिए चारपाटा मोडेर चार भञ्ज्याङ कटाउँदा पनि मलाई आपत्ति छैन ।’ यद्यपि पछिल्लो समय उनी एक पछि अर्को विवादमा तानिँदासमेत भिडियोमार्फत आफ्नो बचाउ गर्दै आएका छन् ।

केही अघि संसदीय सुनुवाइ समितिमै खगेन्द्र र उनका साथीले नियुक्ति, सरुवा लगायतका काम गरिदिने भन्दै रकम लिने गरेको सम्बन्धमा उजुरी परेको थियो । उक्त उजुरीबारे चर्चा भइरहेको समयमा उनको भनिएको अर्को विवादास्पद अडियो प्रकरण सार्वजनिक भएको हो ।रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले सो अडियो खगेन्द्रकै पुष्टि भएमा कारबाही हुने बताए । उनले भनेका छन्, ‘त्यो शब्द हाम्रै सांसदको हो भने कारबाही हुन्छ ।’ पार्टीको अनुशासन अयोगले छानबिन सुरु गरेको सचेतक परियारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट