काठमाडौँ : सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायतका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङ गर्दै सो निर्णय सार्वजनिक गरेको हो।प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा कुनै अवरोध हुन नदिन आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न पत्राचार गरिसकिएको जानकारी दिए। नागरिकलाई सेवा लिन अनावश्यक सास्ती नदिने निर्णय केन्द्रीय अनुगमन समितिबाट भएको उनले बताए।
यसैगरी, सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गर्न लगानीसम्बन्धी सेवालाई सरल, पारदर्शी, समयबद्ध र पूर्वानुमानयोग्य बनाउने तयारी गरिरहेको छ। त्यसका लागि ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए।‘स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात, अस्पताल तथा अन्य अत्यावश्यक सेवाहरूमा चाडपर्वको बेला पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने निर्णय भएको छ,’ प्रवक्ता अर्यालले भने, ‘स्वदेशी तथा विदेशी लगानीको प्रवर्द्धन गर्न एउटा राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधिको मस्यौदा हुँदैछ, जसले लगानी प्रणालीमा सुधार ल्याउने विश्वास गरिएको छ।’उक्त कार्यविधिले लगानी प्रक्रियालाई व्यवस्थित र सहज बनाउँदै स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा सरकारले लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij