जनकपुरधाम : कुनै समय नेपालबाट धान–चामल निर्यात हुने गरे पनि अहिले मुलुकको आन्तरिक उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा आयात गर्नुपर्ने अवस्था छ । पछिल्ला वर्ष धान खेतीको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्वमा समेत कमी आएपछि धानमा आत्मनिर्भर बन्न ठुलो चुनौती थपिएको छ ।धानको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको सपहीमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथले विभिन्न जात र खेती प्रविधिमाथि अध्ययन तथा अनुसन्धान गर्दै आएको छ । समयअनुसार किसानका आवश्यकता र नेपालको विभिन्न भूगोल तथा हावापानी सुहाउँदो धानका नयाँ जात विकास, परीक्षण र सिफारिस गर्ने काम पनि राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले गर्दै आएको छ ।
मधेसलाई धान उत्पादनको महत्त्वपूर्ण क्षेत्र मानिए पनि पछिल्ला वर्ष सिँचाइको अवस्था, मनसुन, समयमा रोपाइँ, गुणस्तरीय बिउ, मलखादको उपलब्धता र आधुनिक खेती प्रविधिको प्रयोगले उत्पादनमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ । बदलिँदो मौसम र जलवायु परिवर्तनले समेत धान उत्पादनमा थप चुनौती सिर्जना गरेको अनुसन्धानकर्ता बताउँछन् ।नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले धानका नयाँ जात तथा खेती प्रविधिको विकास र परीक्षणसँगै स्रोत बिउ उत्पादन तथा किसानसम्म प्रविधि पुर्याउने काम गर्दै आएको छ । अनुसन्धान कार्यक्रम हर्दिनाथका प्रवक्ता तथा वरिष्ठ प्राविधिक रवीन्द्रप्रसाद साहका अनुसार किसान तथा सरोकारवालाबाट आएका समस्या र राष्ट्रिय प्राथमिकतालाई आधार बनाएर अनुसन्धान अघि बढाइने गरेको छ ।
‘हर्दिनाथले विभिन्न भौगोलिक तथा उत्पादन अवस्थाका लागि उपयुक्त हुने धानका जात सिफारिस गर्दै आएको छ,’ साहले भने, ‘परीक्षणपछि सिफारिस गरिएका रामधान, हर्दिनाथ–१, हर्दिनाथ–६, बहुगुणी–२, चैते–५, साम्बा मन्सुली सब–१ र हर्दिनाथ हाइब्रिड–१ लगायतका जात किसानले लगाउन सक्छन् ।’अनुसन्धान कार्यक्रमका अनुसार हर्दिनाथ–१ छोटो अवधिमा पाक्ने जात हो । यो करिब ११० देखि ११५ दिनमा पाक्छ र प्रतिहेक्टर करिब ४.०३ मेट्रिक टन उत्पादन क्षमता छ । त्यस्तै चैते–५ करिब १२० देखि १२५ दिनमा पाक्ने र प्रतिहेक्टर करिब ४.६ मेट्रिक टन उत्पादन क्षमता भएको जात हो । हर्दिनाथ–६ करिब १३५ दिनमा पाक्ने र प्रतिहेक्टर करिब ५.२१ मेट्रिक टन उत्पादन क्षमता भएको जातका रूपमा सिफारिस गरिएको छ ।
तर अनुसन्धानबाट सिफारिस गरिएका यस्ता जातको प्रचारप्रसार र किसानसम्म बिउको पहुँच भने अपेक्षाअनुसार हुन नसकेको अनुसन्धान कार्यक्रमको भनाइ छ । कार्यक्रमका प्रमुख मथुरा यादवका अनुसार सिफारिस गरिएका जातको पर्याप्त प्रचारप्रसार नहुनु र उन्नत जातका बिउ सहज रूपमा उपलब्ध नहुनुले अनुसन्धानबाट अपेक्षित प्रतिफल लिन समस्या भइरहेको छ । ‘हर्दिनाथ–६ को धान करिब १३५ दिनमा पाक्छ र राम्रो उत्पादन दिन्छ, तर यसको प्रचारप्रसार पर्याप्त नहुँदा किसानले अपेक्षित रूपमा लगाएको पाइँदैन,’ यादवले भने, ‘वर्षौंको अनुसन्धानपछि सिफारिस गरिएको जात किसानले प्रयोग नगर्दा अनुसन्धानमा भएको लगानीअनुसारको प्रतिफल आउन सकेको छैन ।’बाढी र सुक्खा दुवैको जोखिम बढिरहेका बेला बहुगुणी–२ जस्ता जात किसानका लागि उपयोगी हुन सक्ने अनुसन्धानकर्ता बताउँछन् । बहुगुणी–२ करिब १४२ दिनमा पाक्ने र प्रतिहेक्टर करिब ५.८ मेट्रिक टन उत्पादन क्षमता भएको जात हो । यो बाढी र प्रजनन अवस्थाको सुक्खा सहन सक्ने जातका रूपमा सिफारिस गरिएको छ । त्यस्तै हर्दिनाथ हाइब्रिड–१ करिब १२१ दिनमा पाक्ने र प्रतिहेक्टर ६.४७ मेट्रिक टनसम्म उत्पादन क्षमता भएको जात हो । नार्कले यसलाई नेपालको पहिलो नेपाली हाइब्रिड धानका रूपमा उल्लेख गरेको छ ।
बदलिँदो मौसमका कारण छोटो अवधिमा पाक्ने, बढी उत्पादन दिने र बाढी तथा सुक्खा सहन सक्ने जातको आवश्यकता बढ्दै गए पनि यस्ता जाततर्फ किसानको पर्याप्त ध्यान जान नसकेको प्रवक्ता साह बताउँछन् । उनका अनुसार राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले हालसम्म करिब ९९ वटा धानका जात सिफारिस गरिसकेको छ । तीमध्ये सिएच–४५, राधा–४, राधा–१२, राधा–१४, सावित्री, रामधान, बहुगुणी, साम्बा मन्सुली सब–१, हर्दिनाथ–५ र हर्दिनाथ–६ लगायतका जात छन् । कार्यक्रमले आवश्यकता र अनुसन्धानको परिणामका आधारमा समय–समयमा नयाँ जातसमेत सिफारिस गर्दै आएको छ ।
सबै जातको उत्पादन क्षमता समान नहुने भएकाले किसानले आफ्नो आवश्यकता र बजारअनुसार जात छनोट गर्नुपर्ने साह बताउँछन् । उनका अनुसार बास्मती, लल्का बास्मती र कालानमकजस्ता धानका जातको चामल लामो, मसिनो र स्वादिलो हुने भएकाले बजारमा माग भए पनि उत्पादन तुलनात्मक रूपमा कम हुन्छ । ‘बास्मती, लल्का बास्मती र कालानमकजस्ता जातको उत्पादन प्रतिहेक्टर करिब एक टनसम्म मात्र हुन सक्छ तर उत्पादन बढी दिने जात लगाउँदा त्यही क्षेत्रफलमा पाँचदेखि ६ टनसम्म उत्पादन लिन सकिन्छ, साहले भने ।
उनका अनुसार नेपालमा धान उत्पादन बढाउन खेतीको क्षेत्रफल विस्तारमात्र पर्याप्त छैन । सीमित कृषि भूमिबाट बढी उत्पादन लिन उन्नत बिउ, सिँचाइ, सन्तुलित मलखाद, यान्त्रिकीकरण, रोग–किरा व्यवस्थापन र किसानलाई उपयुक्त प्रविधिको पहुँच बढाउन आवश्यक छ । साहले भने, ‘पानी जम्ने र डुबान हुने ठाउँमा गंगासागर–१ र गंगासागर–२ जस्ता जात उपयुक्त हुन्छन् । चैते सिजनका लागि हर्दिनाथ–१ र चैते–५ उपयोगी छन् । हाइब्रिड जात दुवै सिजनमा लगाउन सकिन्छ, तर यी जातबारे किसानसम्म पर्याप्त जानकारी पुगेको छैन । किसानलाई सही जानकारी भयो भने समय र स्थानअनुसार उपयुक्त जात लगाएर उत्पादन बढाउन सकिन्छ ।’राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले कार्यालय परिसरमा रहेको करिब ६५ बिघा क्षेत्रफलमध्ये १५ बिघामा विभिन्न धानका जात रोपेर परीक्षण तथा अनुसन्धान गर्दै आएको छ । अनुसन्धान केन्द्रमा उत्पादन, गुणस्तरलगायतका पक्ष परीक्षण गरेपछि किसानको खेतमा समेत परीक्षण गरेपछि मात्र उपयुक्त जात सिफारिस गर्ने गरिएको कार्यक्रमले जनाएको छ ।
केन्द्रका प्रमुख यादवका अनुसार अनुसन्धानबाट विकास भएका जात र प्रविधि किसानको खेतसम्म नपुग्दासम्म वास्तविक प्रतिफल प्राप्त हुन सक्दैन । ‘गुणस्तरीय स्रोत बिउ उपलब्ध हुनु, समयमा बिउ वितरण हुनु, प्राविधिक परामर्श पाउनु र स्थानीय अवस्थाअनुसार उपयुक्त जात छनोट गर्न सक्नु आवश्यक छ,’ यादवले भने, ‘किसानको प्रविधिमा पहुँच कमजोर भयो भने अनुसन्धानको उपलब्धि उत्पादनमा देखिँदैन । त्यसैले अब प्रचारप्रसार र बिउको सहज उपलब्धतामा सरकारको विशेष ध्यान जान जरुरी छ ।’
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रममा सात जना वैज्ञानिक धानसँग सम्बन्धित अनुसन्धान, अध्ययन तथा प्रयोगात्मक काममा संलग्न छन् । उनीहरूले उच्च प्रतिफल दिने नयाँ जात र प्रविधिको खोजी तथा परीक्षण गर्दै आएका छन् । धान उत्पादनमा जलवायु परिवर्तनको प्रभाव पनि अनुसन्धानको महत्त्वपूर्ण विषय बन्दै गएको वैज्ञानिक बताउँछन् । रोपाइँको समयमा पर्याप्त पानी नपर्नु, लामो समयसम्म सुक्खा हुनु, एकैपटक अत्यधिक वर्षा हुनु, बाढी आउनु तथा तापक्रममा असामान्य वृद्धि हुनुजस्ता कारणले धान उत्पादनमा असर पार्ने गरेको उनीहरूको भनाइ छ ।
त्यसैले आगामी दिनमा बढी उत्पादन दिने जातसँगै बाढी, सुक्खा, उच्च तापक्रम तथा अन्य मौसमजन्य जोखिम सहन सक्ने जात विकासमा समेत अनुसन्धान केन्द्रित गर्न वैज्ञानिकहरू लागिपरेको केन्द्रले जनाएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा नेपालमा १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ५७ लाख ५ हजार १२६ मेट्रिक टन उत्पादन भएको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा धान खेती हुँदा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको थियो । यसरी एक वर्षमै धान उत्पादन २ लाख ५० हजार ३५० मेट्रिक टनले घटेको देखिन्छ । प्रतिशतमा हेर्दा उत्पादन ४.२० प्रतिशतले घटेको हो भने क्षेत्रफलतर्फ ४३ हजार ७६४ हेक्टरले घटेको छ । उत्पादकत्वसमेत प्रतिहेक्टर ४.१९ मेट्रिक टनबाट घटेर ४.१४ मेट्रिक टनमा झरेको छ ।
धान उत्पादन घट्दै गएको अवस्थामा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका लागि अब नयाँ जात विकास गर्नुका साथै विकास भएका जात किसानसम्म पुर्याउनु ठुलो चुनौती बनेको छ । कम क्षेत्रफलबाट बढी उत्पादन दिने, कम पानीमा उत्पादन गर्न सकिने, बाढी तथा सुक्खा सहन सक्ने र किसानको उत्पादन लागत घटाउने जात तथा प्रविधिको विकास र विस्तारलाई प्राथमिकता दिनुपर्नेमा किसानहरूको जोड छ । अनुसन्धान केन्द्रले वर्षौं लगाएर विकास गरेका जात र प्रविधि किसानको खेतसम्म पुग्न सकेमात्र त्यसको वास्तविक उपलब्धि उत्पादनमा देखिने भएकाले अब अनुसन्धानसँगै बिउको सहज उपलब्धता, प्रभावकारी प्रचारप्रसार र किसानलाई प्राविधिक जानकारी दिने कामलाई पनि केन्द्रले प्राथमिकता दिनुपर्ने कृषिविज्ञ बताउँछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij