पोखरा : पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ । पोखरा महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई छन् । समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी सत्य तथ्यसहित ५ दिन भित्र प्रतिवेदन पेस गर्ने छ । विद्यालयका सवारी साधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझावसमेत प्रस्तुत गर्ने गरी समिति बनाइएको मेयर धनराज आचार्यले जानकारी दिए ।
‘विद्यार्थीको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो,’ उनले भने– ‘यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन विद्यालयका सवारी साधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदछु ।’ पोखरा महानगरपालिका वडा नं.२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस कालिकास्थित ओख्लेको भिरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि विद्यार्थी, चालक तथा सहचालक गरी २२ जना सवार रहेकोमा ५ जनाको ज्यान गएको छ भने अरू घाइते छन् । सबै घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, घटनाको कारण पहिचान गर्न तथा आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय र सुझावसहित प्रतिवेदन पेस गर्न महानगरले समिति बनाएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij