काठमाडौँ : गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ठुलो जनधनको क्षति भएको छ । बाढीका कारण १० जना स्थानीयबासी बेपत्ता भएका छन् भने भौतिक पूर्वाधार र निजी सम्पत्तिमा ठुलो क्षति भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)का अनुुसार बाढीका कारण खोला आसपासका क्षेत्र रहेका गाउँपालिकाको ३, ५, ७, ९, १० वडामा बढी क्षति भएको छ । सम्पर्कविहीन रहेका १० जना रसुवा क्षेत्रमा कार्यरत थिए ।
जित बहादुर चेपाङ, अर्जुन रिजाल, अरुण कँडेल, किशोर गोली, विमल त्रिपाठी, सन्तोष परियार, राजेन्द्र श्रेष्ठ, अमृत उप्रेती, कुमार राउत र एक बहादुर घले बाढीपछि बेपत्ता भएको अध्यक्ष थपलियाले जानकारी दिए । उनीहरूको खोजी कार्य जारी रहेको उनले बताए ।
भौतिक पूर्वाधारमा अर्बौंको क्षति
बाढीले मलेखुदेखि मौवाखोलासम्मको त्रिशुली नदी तटबन्ध पूर्ण रूपमा बगाएको छ । यस्तै, ६ वटा झोलुङ्गे पुल पूर्ण रूपमा र ६ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । ३३ वटा लिफ्टिङ खानेपानी आयोजना र ५ वटा सिँचाइ आयोजनामा पूर्ण क्षति पुग्दा स्थानीयमा खानेपानीको समस्या देखिएको छ ।
‘७ नं. वडा कार्यालयको भवन पूर्ण रूपमा क्षति भएको छ भने चरौंदी आधारभूत स्वास्थ्य सेवा केन्द्र, दुईवटा सहकारी संस्था, बुद्धि विकास आधारभूत विद्यालय र सामुदायिक भवनहरू समेत पूर्ण रूपमा नष्ट भएका छन्’, अध्यक्ष थपलियाले भने ‘शंखादेवी माध्यमिक विद्यालयको टेवा पर्खालमा पनि क्षति पुगेको छ ।’
निजी घर र व्यवसायमा धक्का
बाढीले ३ वटा घर पूर्ण रूपमा ध्वस्त पारेको छ भने ३७ वटा घरमा आंशिक क्षति पुगेको छ । होटल तथा पर्यटन क्षेत्रमा पनि ठुलो धक्का लागेको छ । ९ वटा होटल तथा रिसोर्टमा आंशिक क्षति पुगेको छ भने २ वटा होटल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ७ वटा मठ–मन्दिर तथा पार्क र ६ वटा मरणघाट (घाट) समेत बाढीले बगाएको अध्यक्ष थपलियाले बताए ।
कृषि र पशुपालनमा क्षति
स्थानीय कृषकहरू बाढीबाट नराम्ररी प्रभावित भएका छन् । करिब २०० रोपनी क्षेत्रफलमा लगाइएको कृषि बाली बाढीले नष्ट गर्नुका साथै जमिनसमेत कटान गरेको छ । २२ वटा गोठ क्षतिग्रस्त भएका छन् भने अनुमानित ४५ वटा पशु चौपाया बाढीले बगाएको छ ।
प्रभावित परिवारलाई पालिकाले राहत वितरण गरिरहे पनि केन्द्रबाट अहिलेसम्म राहत नपुगेको अध्यक्ष थपलियाले बताए । केन्द्रबाट आउने क्रममा रहेको जानकारी प्राप्त भएको उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij