काठमाडौँ : गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण तनहुँको देवघाट गाउँपालिकाको अवस्था अहिले सामान्य बन्दै गएको छ । गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले हालसम्म पालिकाभित्र कुनै मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको जानकारी गराए ।
मर्स्याङ्दी र सेती नदीको बहावलाई थेग्न सक्ने फराकिलो भौगोलिक बनावटका कारण गाउँपालिकाभित्र मानवीय र ठुलो भौतिक क्षति हुन नपाएको उनको भनाइ छ ।उपाध्यक्ष गुरुङका अनुसार ठुलो भौतिक विनाश नभए पनि सानातिना मर्मत गर्नुपर्ने क्षति भने थुप्रै छन् ।
गाउँपालिकाले हाल राहत वितरणभन्दा पनि बाढीबाट प्रभावित संरचनाहरूको पुनर्निर्माण र स्वास्थ्य सतर्कतामा ध्यान केन्द्रित गरेको छ । हालसम्म देवघाटका कुनै पनि नागरिक अन्यत्र गएर बेपत्ता भएको रिपोर्ट नआएको पनि गुरुङले प्रस्ट पारे ।
२८ शव व्यवस्थापन
बाढीका क्रममा नदीले बगाएर ल्याएका २८ वटा शवहरूको व्यवस्थापन कार्य गाउँपालिकाले सम्पन्न गरिसकेको छ ।
‘हामीले २८ वटा शवको मुचुल्का उठाएर गण्डकी प्रदेश सरकारलाई बुझाइसकेका छौँ । साथै मरेका चौपायाहरूको व्यवस्थापन कार्य पनि भइसकेको छ,’ उपाध्यक्ष गुरुङले भने ।
महामारीको जोखिम
बाढी र डुबानपछि अब गाउँपालिकामा महामारी फैलिन सक्ने जोखिमलाई लिएर स्थानीय सरकार चिन्तित देखिएको छ । उपाध्यक्ष गुरुङले आगामी दिनमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।
‘अहिले हाम्रो मुख्य चिन्ता भनेको महामारी फैलिन नदिनु हो । त्यसका लागि भोलिदेखि नै हामी स्वास्थ्य शिक्षा र जनचेतनाका कार्यक्रमहरू लिएर नागरिकको घरदैलोमा पुग्दैछौँ’ उनले भने ।
विपदको यस घडीमा गाउँपालिकाले प्रभावकारी ढङ्गले काम गरिरहेको र नागरिकको स्वास्थ्य सुरक्षाका लागि औषधि तथा आवश्यक उपकरणहरू तयारी अवस्थामा राखिएको उपाध्यक्ष गुरुङको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij