Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

त्रिशूलीमा ३५ पुल बग्दा गल्छीको पुल कसरी जोगियो ?

त्रिशूलीमा ३५ पुल बग्दा गल्छीको पुल कसरी जोगियो ?

काठमाडौँ : भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली नदीका ३५ भन्दा बढी पुल बगाएको छ। रसुवा, नुवाकोट र धादिङका पक्की, बेलिब्रिज र झोलुङ्गे पुल बाढीको चपेटामा परेका छन्। बाढीले केही पुल पूर्ण रूपमा बगाएको छ भने केहीमा आंशिक क्षति पुर्‍याएको छ।

त्रिशूलीमा यस्तो भीषण बाढी आउँदा पनि धादिङको गल्छीस्थित महेशदोभानमा निर्माणाधीन एउटा पुल भने जोगिएको छ। धादिङबेँसी जोड्ने फुर्केखोला पुलसमेत बगाएको अवस्थामा गल्छीको पुल कसरी जोगियो भन्ने धेरैको चासो छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार नदीको भौगोलिक बनोट, पुलको लामो स्पान र जग चट्टानभित्र निकै गहिराइसम्म पुर्‍याएर निर्माण गरिएका कारण यो पुल जोगिएको हो।

बाढीको तीव्र बहाव देख्दा जैसीलाई पनि उक्त पुल जोगिन्छ भन्ने लागेको थिएन। तर, बाढी त्यहाँसम्म आइपुग्दा केही कमजोर भएको र नदीको बहाव फैलिन सक्ने पर्याप्त ठाउँ भएकाले पुलमा बाढीको प्रत्यक्ष दबाब कम पर्न गयो।

यही कारण पुलको संरचनामा ठूलो क्षति हुन नपाएको उनले बताए। चट्टानी भूबनोट र नदीको फराकिलो क्षेत्रले पुललाई बाढीको उच्च वेगबाट जोगाउन सहयोग गरेको जैसीको भनाइ छ।

उनले भने, ‘बाढी यहाँसम्म आइपुग्दासम्म माथिदेखिको डिस्चार्ज र भेलोसिटी अलि मरिसकेको अवस्था थियो। गल्छीमा पानी फैलिन सक्ने ठाउँ धेरै छ। पानी फैलिने ठाउँ धेरै भएको र भाग्यवश पुलको बीचको स्पान पनि लामो परेकाले यो जोगियो।’

यस्तै संरचना भएको त्रिशूलीकै तुप्चे क्षेत्रको अर्को पुल भने बाढीले बगाएको उनले जानकारी दिए। तुप्चेको पुल अलि माथि रहेको तर गल्छीको ठाउँ फराकिलो हुनुका साथै यहाँको चट्टान निकै बलियो रहेको जैसीले प्रस्ट पारे। उनले थपे, ‘यो पुललाई चट्टानभित्र करिब १०–१५ मिटर तलसम्म पठाइएको थियो, जसलाई भेलले काट्न सकेन। अहिले हामीलाई ठूलो राहत महसुस भएको छ।’

महानिर्देशक जैसीका अनुसार यसपटकको बाढी सामान्य अनुमानभन्दा निकै ठूलो थियो। टिमुरे र रसुवागढी क्षेत्रमा बाढीको छाल करिब सय मिटरसम्म माथि पुगेको आकलन गरिएको उनले बताए। यस्तो असाधारण बाढीमा सामान्य डिजाइन मापदण्डअनुसार निर्माण भएका संरचना जोगिन निकै कठिन हुन्छ।

उनले भने, ‘यो हाम्रा लागि नसोचेको महाप्रलय जस्तो अवस्था भयो। हामीले सामान्यतः हाइड्रोलोजिकल प्यारामिटर र म्यानुअलका आधारमा पुल डिजाइन गर्छौं। टिमुरे र रसुवागढीमा सय मिटरमाथिसम्म छाल पुगेको आकलन गर्दा कुनै पनि पुल जोगिने सम्भावना नै थिएन।’ भाग्यवश त्रिशूलीमा केही पुल जोगिएको र स्याफ्रुबेँसीतर्फ बचेको यो पहिलो पुल भएको उनले बताए।

बाढीले पुलहरूमा ठूलो क्षति पुर्‍याएपछि सडक विभाग पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन गर्ने निष्कर्षमा पुगेको छ। बाढीले क्षति पुर्‍याएका सडक तथा पुलको स्थलगत निरीक्षणपछि महानिर्देशक जैसीले अब परम्परागत ढङ्गले पुलको डिजाइन गर्न नहुने बताए।

यसपटकको विपद्ले नेपालमा पुल निर्माणसम्बन्धी विद्यमान मापदण्डमा पुनर्विचार गर्नुपर्ने देखाएको उनको भनाइ छ। जलवायु परिवर्तनका कारण भविष्यमा विपद् थप बढ्न सक्ने भएकाले पुल निर्माणको मापदण्ड पुनरावलोकन अनिवार्य भएको उनले स्पष्ट पारे।

हाल नेपालमा हाइड्रोलोजिकल मापदण्डअनुसार सामान्यतः सय वर्षको रिटर्न पिरियडलाई आधार मानेर पुलको डिजाइन, पानीको बहाव र फ्रि बोर्ड निर्धारण गर्ने गरिन्छ। तर, जलवायु परिवर्तनका कारण नदीमा आउने बाढीको प्रकृति र तीव्रता बदलिइरहेकाले पुराना मापदण्ड मात्र पर्याप्त नहुने जैसीले बताए। अब नेपालले आफ्नै भौगोलिक तथा जलवायु अनुकूल हुने मापदण्ड विकास गर्नुपर्नेछ।

पुल निर्माण गर्दा सकेसम्म नदीको बीचमा पिल्लर नराख्ने, लामो स्पान भएका र अग्ला पुल निर्माण गर्ने गरी मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ। उनले भने, ‘हाम्रा धेरैजसो नदी हिमाल र हिमनदीबाट आउने हुन्। त्यसैले अब हामीले जलवायु उत्थानशील र लामा स्पानका पुल निर्माण गर्नुपर्छ। यसका लागि हामी कोडहरू रिभाइज गर्छौं।’

रणनीतिक र लाइफलाइन पुललाई विशेष प्राथमिकताका साथ ‘ए ग्रेड’ को मान्यता दिएर बलियो र लामो बनाउने विषयमा विभागभित्र गम्भीर मन्थन भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij