काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीको नियमित १५ औं महाधिवेशन गर्न आयोजक समिति गठन गर्नुपर्ने प्रस्ताव राखेका छन् । आफ्नो सचिवालयमार्फत् एक भिडिओ सन्देश जारी गर्दै नेता महतले नियमित महाधिवेशन गर्न साझा विन्दु खोज्नुपर्ने बताएका हुन्।
‘विशेष अधिवेशनमा जोडिएका तथा नजोडिएका शेरबहादुर देउवालगायत ठूलो पार्टी पङ्तिले एउटा साझा विन्दु खोजेर नियमित अधिवेशन गर्न आयोजक समिति जस्तो बनाएर अघि बढ्यो भने नियमित महाधिवेशनबाट आउने नेतृत्वलाई सर्वस्वीकार्य मानेर अघि बढ्ने परिस्थिति हुन्छ,’ महतले भने।
कांग्रेसले असोजमा १५ औं महाधिवेशन गर्ने गरी बुधबारको केन्द्रीय समितिबाट कार्यतालिका ल्याइसकेको छ। त्यसतर्फ लक्ष्य गर्दै महतले आ-आफ्नो हिसाबले अधिवेशन घोषणा गर्ने निर्णयले समाधान नदिने बताएका छन् । नियमित अधिवेशन गर्ने निकायलाई सबैले विश्वास गर्ने खालको बनाउनुपर्ने पनि उनको भनाइ छ। उनले कांग्रेस एकताबद्ध हुनुपर्ने पनि बताएका छन्।
उनले पार्टीभित्र सहमति वातावरण बनाउन साझा सुत्र बनाउन योगदान गर्ने पनि बताएका छन्। एकअर्कालाई गाली गर्ने वा विगतमा भएका गतिविधिलाई लिएर बहस गरिरहे समाधान ननिस्कने पनि उनले बताएका छन्।
पार्टी एकीकृत भएर अघि बढ्नुपर्ने उनको भनाइ छ। महत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट १ मा उम्मेदवार थिए भने पराजित भएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij