काठमाडौँ : हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि विभिन्न दलको प्रतिनिधित्व गर्ने झापाका वामपन्थी नेताहरूले वाम आन्दोलन पुनर्गठनको आवश्यकता औँल्याएका छन् ।
नेताहरूले जारी गरेको संयुक्त अपिलमा चुनावको नतिजाले कम्युनिस्टहरूलाई ‘इतिहासकै गम्भीर मोड’ मा पुर्याएकाले तत्काल आत्मसमीक्षा र संरचनागत सुधार गर्दै वाम आन्दोलन पुनर्गठनमा जोड दिएका हुन् । संयुक्त अपिल जारी गर्नेहरुमा २०२८ सालको झापा आन्दोलनका अगुवा नरेश खरेल सहित एमाले पूर्व केन्द्रीय सदस्य रविन कोइराला र गणेश पोखरेल लगायत छन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका झलकसिंह दर्लामी, पुष्प पोखेल, ज्योतिसिंह दर्लामी, रन्जित तामाङ, नेकपा संयुक्तका नीलमणि बराल, नेकपा (माओवादी) का अर्जुन पाण्डे, प्रगतिशील लोकतान्त्रिक पार्टीकी लक्ष्मीदेवी न्यौपाने सरुले जारी गरेको अपिलमा संसदीय निर्वाचनमा यसस्तरमा भएको पराजयले आन्दोलनको भविष्यमाथि नै गम्भीर प्रश्न खडा गरेको उल्लेख छ ।
उनीहरुले वामपन्थी धार कमजोर बन्दै गएको, जनविश्वास घट्दै गएको र समाजवादप्रति आशंका बढ्दै गएको भन्दै अहिलेको अवस्थालाई सामान्य राजनीतिक उतारचढाव मात्र नभई गहिरो सङ्कटको सङ्केतका रूपमा अर्थ्याएका छन् ।
साथै नेताहरूले भनेजस्तो पराजयको मुख्य कारण बाह्य शक्तिको प्रभाव मात्र नभई आन्तरिक कमजोरी रहेको औँल्याएका छन् । ‘विदेशी चलखेल सधैँ रहन्छ, तर त्यसलाई बहाना बनाएर नेतृत्वले आफ्ना कमजोरी लुकाउन खोज्नु स्वीकार्य हुँदैन,’ संयुक्त अपिलमा भनिएको छ ।
लामो समयदेखि पार्टीहरूभित्र बढ्दै गएको गुटबन्दी, विधान उल्लङ्घन, सत्ताकेन्द्रित राजनीति र जनतासँगको दूरीले वाम आन्दोलनलाई कमजोर बनाएको ठहरसहित नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि अपिलमा छ ।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij