Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवन र पर्सामा बाघ गणनाको दोस्रो चरण पूरा

चितवन र पर्सामा बाघ गणनाको दोस्रो चरण पूरा

चितवन :  चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर सुरु गरिएको बाघ गणनाको दोस्रो चरणको काम सफलतापूर्वक सम्पन्न भएको छ। गत पुस ३ गतेदेखि सुरु भएको गणना अन्तर्गत दोस्रो खण्डको काम सकिएपछि अहिले जडान गरिएका स्वचालित क्यामेराहरू निकाल्ने काम भइरहेको छ। निकुञ्ज प्रशासनका अनुसार ती क्यामेराहरू उठाउन दुई देखि तीन दिन लाग्नेछ।

गेन्द्रमल्ली, लोथर, प्रतापपुर, ठोरी र सोमेश्वर लगायतका क्षेत्रमा ३३६ वटा ग्रिडमा विभाजन गरेर क्यामेरा राखिएको थियो। यो क्षेत्रमा १५० जना तालिमप्राप्त गणकहरू खटिएका थिए। अब ती क्यामेराहरू स्थानान्तरण गरी तेस्रो चरण अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको बाँकी क्षेत्रमा बाघको फोटो खिच्ने काम सुरु हुनेछ।

बाघ गणनाका लागि २ वर्ग किलोमिटरको एउटा ग्रिड बनाएर प्रत्येकमा एक जोडी स्वचालित क्यामेरा राखिने गरिन्छ। बाघ ओहोरदोहोर गर्ने बाटोमा राखिएका यी क्यामेराले खिचेका तस्बिरहरू संकलन गरेपछि प्राविधिकहरूले बाघको शरीरमा हुने पाटाका आधारमा संख्या पत्ता लगाउनेछन्। हरेक बाघको शरीरको पाटा मानिसको औँठाछाप जस्तै फरक–फरक हुने भएकाले एउटै बाघ दोहोरिने सम्भावना हुँदैन।

नेपालमा हरेक चार वर्षमा बाघ गणना गर्ने गरिन्छ। यसपटक चितवन–पर्सा ब्लकसँगै बाँके, बर्दिया र शुक्लाफाँटामा पनि गणना भइरहेको छ। सन् २०२२ मा गरिएको पछिल्लो गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ फेला परेका थिए, जसमा चितवनमा सबैभन्दा बढी १२८ र पर्सामा ४१ वटा बाघ रेकर्ड भएका थिए। तीन महिना चल्ने यो गणनामा निकुञ्जका कर्मचारी, प्रकृति संरक्षण कोषका प्राविधिक र स्थानीय स्वयंसेवकहरू सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij