Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मंगल ग्रहको सबैभन्दा ठूलो उल्का पिण्ड ७३ करोड रुपैयाँमा बिक्री

मंगल ग्रहको सबैभन्दा ठूलो उल्का पिण्ड ७३ करोड रुपैयाँमा बिक्री

न्यूयोर्क : मंगल ग्रहबाट पृथ्वीमा भेटिएको अहिलेसम्मकै सबैभन्दा ठूलो उल्का पिण्ड ५.३ मिलियन अमेरिकी डलर (करिब ७३ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ। न्यूयोर्कस्थित सोथेबाइज् लिलामी घरमा बुधबार सम्पन्न लिलामीमा एक अज्ञात व्यक्तिले उक्त उल्का पिण्ड किनेका हुन्।

एनडब्लुए १६७८८ नाम दिइएको उक्त उल्का पिण्डको तौल २४.५ किलोग्राम छ। सोथेबाइज्का अनुसार प्रायः मंगल ग्रहबाट आएका उल्का पिण्डहरू साना टुक्रा मात्र हुने गरेका छन्, तर यो नमुना तुलनात्मक रूपमा ‘विशाल’ हो।

उक्त उल्का पिण्ड सन् २०२३ को नोभेम्बरमा अफ्रिकी मुलुक नाइजरको सुदूर अगाडेज क्षेत्रमा फेला परेको थियो। लिलामी घरका अनुसार यो नमुना अहिलेसम्म फेला परेको अर्को ठूलो मंगल उल्का पिण्डको तुलनामा ७०% ले ठूलो हो।मंगल ग्रहबाट आएको यस्ता नमुनाहरू निकै दुर्लभ मानिन्छन्। अहिलेसम्म पृथ्वीमा जम्मा करिब ४०० वटा मात्र मंगल ग्रहका उल्का पिण्ड भेटिएका छन्।

उल्का पिण्डहरू तारा, धूमकेतु वा ग्रहका टुक्रा हुन्, जो पृथ्वीको वातावरण पार गरेर बाँकी रहेका भागहरू हुन्। सोथेबाइज्ले यसलाई ‘एक ऐतिहासिक तथा वैज्ञानिक रूपमा अत्यन्त महत्वपूर्ण’ नमुना भनेको छ। उक्त उल्का पिण्डको खरिदकर्ता को हुन् भन्ने खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट