नयाँदिल्ली : रणवीर सिंहको शीर्ष भूमिकामा बन्न थालेको ‘डन ३’ एकपछि अर्काे समस्यामा पर्दै गइरहेको छ । केही समयदेखि विभिन्न कारणले फिल्मको छायाङ्कन स्थगित हुँदै आएको थियो ।
त्यसपछि अभिनेत्री कियारा आडवाणी फिल्मबाट बाहिरिएको खबर आयो । अब फिल्मका ‘खलनायक’ विक्रान्त मेसीले पनि प्रोजेक्ट छोडेका छन् । बलिउड हंगामाको समाचारअनुसार विक्रान्त मेसीले अचानक फिल्म छोड्ने निर्णय गरेका छन् ।
यसका कारण निर्माताहरूले नयाँ खलनायकको खोजी गर्नु परेको छ । उनीहरू विक्रान्तलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्ने नयाँ कलाकारहरू खोज्नमा व्यस्त छन् ।
डन ३ मा नयाँ जोस थप्न विक्रान्त मेसीलाई कास्ट गरिएको थियो । तर उनले अचानक फिल्म छोड्ने निर्णय गरे । ‘फिल्ममा उनको चरित्र एक ठगको थियो जसले मानिसहरूलाई शब्दको जालमा फसाउँछ ।
यसका लागि उनले आफैँमा पनि आश्चर्यजनक परिवर्तन गर्नुपर्ने थियो । फिल्ममा रणवीरसँगको एक्सन दृश्यहरू पनि समावेश गरिएको थियो । तर अब उनको निर्णयले निर्माताहरूलाई कठिन परिस्थितिमा पारेको छ’ स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।
विक्रान्त फिल्मबाट बाहिरिएपछि फरहान अख्तर आदित्य रोय कपूर र विजय देवरकोन्डालाई डन ३ मा खलनायक बनाउने सोचमा रहेको खबर आएको छ ।
निर्माताहरूले यस भूमिकाका लागि दुवै कलाकारहरूसँग कुरा गरिसकेको तर अहिलेसम्म कुनै आधिकारिक घोषणा नगरिएको बताइएको छ । ‘विक्रान्त एक अद्भुत अभिनेता हुन र उनको उपस्थिति फिल्मको लागि धेरै विशेष हुनेछ । यद्यपि, हामी आशा गर्छाैं कि उनी जस्तै, अरू कुनै अभिनेता अगाडि आएर यो चुनौती स्वीकार गर्नेछन्’ स्रोतले भनेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij