Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेपालकै पहिलो नागढुंगा सुरुङमार्ग साउन ११ देखि परीक्षण सञ्चालनमा, उद्घाटनअघि ‘फन रन एन्ड वाक’ आयोजना

नेपालकै पहिलो नागढुंगा सुरुङमार्ग साउन ११ देखि परीक्षण सञ्चालनमा, उद्घाटनअघि ‘फन रन एन्ड वाक’ आयोजना

काठमाडौं : काठमाडौंको नागढुंगा र धादिङको सिस्नेखोलालाई जोड्ने नेपालकै पहिलो सडक सुरुङमार्ग आगामी साउन ११ गतेदेखि परीक्षण सञ्चालनमा आउने भएको छ। औपचारिक उद्घाटनअघि शनिबार सुरुङभित्र ‘नागढुंगा टनेल फन रन एन्ड वाक’ कार्यक्रम आयोजना गरी सर्वसाधारणलाई सुरुङमार्गको प्रत्यक्ष अवलोकन गराइएको हो।

सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले सुरुङमार्गभित्र दौड तथा पदयात्रा गर्दै नेपालकै पहिलो सडक सुरुङको अनुभव लिएका थिए। कार्यक्रममा सुरुङमार्गको सञ्चालन तयारी, सुरक्षा व्यवस्था तथा प्रविधिबारे पनि जानकारी गराइएको थियो।

सडक विभागका अनुसार सुरुङमार्ग निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसके पनि आवश्यक प्राविधिक परीक्षण, व्यवस्थापकीय तयारी तथा कानुनी प्रक्रिया पूरा गर्न समय लागेकाले सञ्चालनमा केही ढिलाइ भएको हो। विभागले साउन ११ गते औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ भने कार्यक्रममा जाइकाका प्रतिनिधिहरूको समेत सहभागिता रहने जनाइएको छ।

प्रारम्भिक चरणमा सुरुङमार्ग परीक्षण सञ्चालनका रूपमा खुला गरिनेछ। यस अवधिमा सुरुङ प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने विभागले जनाएको छ। पूर्ण व्यावसायिक सञ्चालन भने करिब दुईदेखि तीन महिनापछि सुरु हुने अनुमान गरिएको छ। त्यसपछि सरकारले तोकेको टोल शुल्क लागू गरिनेछ।

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नागढुंगा सडकखण्डमा हुने सवारी जाममा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ। हाल बलम्बुदेखि सिस्नेखोलासम्मको करिब ७.५ किलोमिटर दूरी सुरुङमार्ग प्रयोग गर्दा करिब ५ किलोमिटरमा सीमित हुने र यात्रा समय पनि झन्डै आधाले घट्ने विश्वास गरिएको छ।

सडक विभागका अनुसार सुरुङभित्र अक्सिजन आपूर्ति, भेन्टिलेसन प्रणाली, अग्नि नियन्त्रण, सुरक्षा निगरानी (सिसिटिभी), सञ्चार सेवा, विद्युत् आपूर्ति तथा टोल व्यवस्थापन प्रणालीसहित आवश्यक सम्पूर्ण पूर्वाधार जडान र परीक्षण सम्पन्न भइसकेको छ।

नेपालकै पहिलो सडक सुरुङमार्ग भएकाले यसको सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था, सञ्चालन कार्यविधि, सुरक्षा मापदण्ड तथा व्यवस्थापन प्रणाली तयार गर्न अतिरिक्त समय लागेको विभागले जनाएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि राजधानी प्रवेश तथा बाहिरिने सवारी आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट