चितवन : सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले दीर्घकालीन रूपमा शिक्षा क्षेत्रका समस्या समाधान गर्ने उद्देश्यसहित विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने बताएका छन्।
बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले आगामी ५० वर्षसम्म शिक्षा क्षेत्रमा देखिन सक्ने चुनौतीलाई सम्बोधन गर्ने गरी विधेयक तयार भइरहेको जानकारी दिए। उनले प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोग तथा बदलिँदो शैक्षिक आवश्यकतालाई समेटेर विधेयक ल्याइने बताए।
उनका अनुसार नेपालभरका विद्यालयको पाठ्यक्रम पूर्ण रूपमा पुनर्संरचना गर्न कार्यदल गठन गरी काम अघि बढाइएको छ। साथै, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम कार्यक्रमलाई पनि प्रभावकारी रूपमा सञ्चालन गरिने उनले बताए।
मन्त्री पोखरेलले विद्यालयहरूको वास्तविक आवश्यकता पहिचान गरेर मात्रै बजेट विनियोजन गर्ने नीति सरकारले अघि सारेको उल्लेख गरे। चितवनका विश्वविद्यालय, क्याम्पस तथा विद्यालयहरूको स्थलगत निरीक्षणका लागि मन्त्री पोखरेल बिहीबार चितवन आएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij