Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

नेप्से बढ्यो‚ कारोबार रकम घट्यो

नेप्से बढ्यो‚ कारोबार रकम घट्यो

काठमाडौँ : साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेप्से २१.६२ अंकले बढेको छ। नेप्से बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.८२ प्रतिशतले बढ्दै २६३८.६० विन्दुमा अडिएको छ। मंगलबार सेन्सिटिभ इन्डेक्स पनि २.३१ अंकले बढेर ४५३.३७ विन्दुमा रोकिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.५१ प्रतिशतले बढेको हो। नेप्सेमा मंगलबार ३२८ कम्पनीको ४९ हजार ९३ पटकको कारोबारमा ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच भए।

जसमा मंगलबार चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ रुपैयाँबराबरको कारोबार भयो। नेप्सेमा आइतबार ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँबराबरको कारोबार भएको थियो भने सोमबार पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँबराबरको कारोबार भएको थियो। नेप्सेमा मंगलबार १३ समूहको कारोबार भएकामा सबै समूहमा हरियाली छायो। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.३०‚ विकास बैंक १.११‚ फाइनान्स समूहको सूचक ०.६४‚ होटेल तथा पर्यटन २.०२‚ जलविद्युत् समूहको सूचक १.२७ प्रतिशतले बढ्यो।

यस्तै लगानी ०.६१‚ जीवन बिमा ०.७०‚ उत्पादन तथा प्रशोधन १.७६‚ लघुवित्त समूह ०.७९‚ म्युचुअल फन्ड ०.०९‚ निर्जीवन बिमा ०.५२‚ अन्य ०.३३ र व्यापार समूहको सूचक १.४९ प्रतिशतले उकालो लाग्यो। नेप्सेमा मंगलबार २१३ कम्पनीको सेयर मूल्य बढ्यो। ४२ कम्पनीको सेयरमूल्य घट्दा ६ कम्पनीको भने स्थिर रह्यो। दिनभर उतारचढाव भइरहेको नेप्सेमा मंगलबार पनि सबैभन्दा बढी साल्पा विकास बैंक लिमिटेडका लगानीकर्ताले कमाए। साल्पाको सेयर मूल्य आइतबार र मंगलबार पोजेटिभ सर्किट लाग्दा सोमबार भने ९.९९ प्रतिशतले बढ्यो। मंगलबार साल्पाको अन्तिम कारोबार मूल्य ४८३ रुपैयाँ कायम रह्यो।

यसैगरी एसबीआई बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ३.५८ प्रतिशतले सेयरमूल्य गुमाए। मंगलबार सबैभन्दा धेरै कारोबार हुनेमा एसवाई प्यानल नेपाल लिमिटेड रह्यो। एसवाई प्यानलको आज ३७ करोड ७२ लाख ९१ हजार ३२० रुपैयाँको कारोबार भयो। मंगलबार एसवाई प्यानलको अन्तिम सेयर मूल्य प्रतिकित्ता १८७१ रुपैयाँ कायम रह्यो।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट