Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

पोखरा स्कुल बस दुर्घटना : तीन विद्यार्थीको अन्त्येष्टि, गम्भीर घाइतेलाई काठमाडौं लगियो

पोखरा स्कुल बस दुर्घटना : तीन विद्यार्थीको अन्त्येष्टि, गम्भीर घाइतेलाई काठमाडौं लगियो

पोखरा : पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भीरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँचजनामध्ये तीनजनाको आज साँझ अन्त्येष्टि गरिएको छ।

यसैगरी गम्भीर घाइते एकजनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङलिस बोर्डिङ स्कुलको ग२ख १४१७ नम्बरको बस दुर्घटनामा चार विद्यार्थी र एक अन्य व्यक्तिको मृत्यु भएको थियो।

विद्यालयले मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति गरेपछि मृतक विद्यार्थी ममता तिवारी, असीम कँडेल र शुभेच्छा तिवारीको शव परीक्षणपछि आइतबार साँझ ७:०० बजेपछि पोखराको सेती नदी किनारस्थित रामघाटमा अन्त्येष्टि गरिएको पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयमा भएको पीडित पक्ष र विद्यालय सञ्चालकबीचको वार्तामा विद्यालयले मृतकका परिवारलाई जनही रु. तीन लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराउने सहमति भएको उनले बताए। मृतकका परिवारले बिमाबापतको रकमसमेत पाउनेछन् भने विद्यालयले दुर्घटनामा घाइते भएकाहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने सहमति भएको छ।

“जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा सहमति भएपछि पीडित परिवारले शव बुझेर तीनजनाको आइतबार साँझ अन्त्येष्टि गरेका छन्। बाँकी दुईजनाका परिवारका सदस्य विदेशबाट आउँदै गरेकाले उनीहरूको अन्त्येष्टि अर्को दिन गरिनेछ”, वडाध्यक्ष लामिछानेले भने। उनका अनुसार दुर्घटनामा मृत्यु भएकी विद्यार्थी रुमिका नेपालीका बुबा विदेशबाट आउँदै छन् भने बाबुराम तिवारीका छोरा पनि विदेशमा छन्।

यसैबीच दुर्घटनामा गम्भीर घाइते भएकी १६ वर्षीया अस्मी कँडेललाई थप उपचारका लागि आइतबार साँझ ४:४५ बजे हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय गरी मुस्ताङ एयरको हेलिकप्टरबाट उनलाई काठमाडौँस्थित बीएण्डबी अस्पताल पठाएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए।

दुर्घटनामा घाइते भएकामध्ये सात विद्यार्थीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने उपचारपछि तीनजना घर फर्किएका छन्। गण्डकी मेडिकल कलेजमा तीनजनाको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट