Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

निसीखोलामा बाढीपहिरोबाट रु. १० करोडको क्षति

निसीखोलामा बाढीपहिरोबाट रु. १० करोडको क्षति

बागलुङ : बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु. १० करोडको क्षति पुगेको छ।असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकाले ठूलो धनजनको क्षति व्यहोर्नु परेको हो। अविरल वर्षासँगै आएको बाढीपहिरोले बागलुङको निसीखोला गाउँपालिकामा पाँचजनाको मृत्यु भएको छ भने करिब रु. १० करोड बराबरको भौतिक क्षति पुर्‍याएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले बताए।

निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ। पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश तथा निसान विकको ज्यान गएको हो। यस्तै निसीखोला–६ मा गोठ पुरिदा गोठभित्र सुतिरहेका सुर्ज घर्ती मगरको मृत्यु भएको थियो। गाउँपालिका–४ स्थित कानाबगर र झिवाखोला बजारको केही भाग बगरमा परिणत भएको छ।

मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा ठूलो क्षति बनाएको छ। झिवाखोला बजारको पुरानो बजार, हार्डवयर, फर्निचर, किराना पसल तथा लिटिल रोज बोर्डिङसहित प्रहरी चौकीमा क्षति पुर्‍याएको छ। गाउँपालिकामा सडक पूर्वाधार, निजी आवास, विद्यालय तथा स्वास्थ्यचौकी भवन, खानेपानी, सिँचाइ, लघु विद्युत्, पुल र कृषि क्षेत्रमा ठूलो क्षति भएको छ।

गाउँपालिका भरमा निसीखोलामा आएको बाढी र विभिन्न क्षेत्रमा खसेको पहिरोले रु. नौ करोड ९२ लाख २९ हजार ९५० को भौतिक क्षति गराएको छ। सडक पूर्वाधारमा रु. तीन करोड ४० लाख, भवन तथा आवासमा रु. पाँच करोड ३० लाख, खानेपानीमा रु. पाँच लाख १२ हजार, सिँचाइमा रु. ३५ लाख ३८ हजार, विद्युत्‌मा रु. ३७ लाख ४० हजार, झोलुङ्गे पुलमा रु. २० लाख, कृषि क्षेत्रमा रु. ३३ लाख २८ हजार नोक्सानी भएको छ।

बाढीपहिरोले सडक पूर्वाधारमा क्षति पुर्याउँदा ग्रामीण क्षेत्रको जनजीवन नै प्रभावित बनाएको छ। कालोपत्र सडक, ढलान सडक, ग्याबिन पर्खाल र नालीमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij