काठमाडौँ : नेपालमा पहिलोपल्ट फिसिङको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। कर्णाली र्याफ्टिङ एन्ड एड्भेन्चर प्रालिको तत्त्वावधानमा कर्णालीको सेती नदीमा आयोजना हुन लागेको यो प्रतियोगिता आफैँमा ऐतिहासिक हो।
प्रतियोगितामा ३० विदेशी राष्ट्रका चर्चित एङ्लरहरूले भाग लिन लागेको आयोजक कर्णाली र्याफ्टिङ एन्ड एड्भेन्चर प्रालिका संस्थापक देवराज जैसीले नेपालन्युजलाई जानकारी गराए। प्रतियोगिताको नाम ‘सेती कर्णाली अन्तर्राष्ट्रिय महसिर एङ्लिङ च्यालेन्ज नेपाल, २०२६’ राखिएको छ। आउँदो ८-२० चैत (२२ मार्चदेखि २ अप्रिल) सम्म हुने प्रतियोगितामा सबैभन्दा बढी बेलायतबाट १७, नेदरल्यान्ड्सबाट पाँच, भारतबाट तीन, मलेसियाबाट दुई तथा जापान, थाइल्यान्ड र फिनल्यान्डबाट समान एक जना गरी कुल ३० विदेशी खेलाडीले नाम दर्ता गराइसकेको आयोजक समितिले जानकारी गराएको छ।
प्रतियोगितामा तीन वटा विधा – सबैभन्दा ठूलो माछा बल्छीबाट समात्ने, सबैभन्दा बढी समात्ने र फरक प्रजातिका माछाहरू समात्ने एङ्लर पुरस्कृत हुनेछन्। यी तीन वटै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिनेछ। पहिलो हुनेले ५० हजार नगद र माछाको आकृति भएको एउटा सिल्ड पुरस्कारस्वरूप पाउनेछन्। दोस्रोले २५ हजार र सिल्ड तथा तेस्रो हुनेलाई १५ हजार र सिल्डबाट पुरस्कृत गरिनेछ।
अझ, पहिलो हुनेको हकमा अघिल्लो वर्ष नेपाल आउने प्याकेजमा ५० प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको जैसी बताउँछन्। यसमा दोस्रो हुनेले प्याकेजमा २५ र तेस्रो हुनेले १५ प्रतिशत छुट पाउनेछन्। प्रतियोगितालाई सफल बनाउन स्थानीय पालिका र नेपाल पर्यटन बोर्डले सहयोग गरेका छन्। प्रतियोगिताको कुल बजेट ६२ लाख ७० हजार हो भने सबै विदेशी खेलाडी आफ्नो खर्चमा नेपाल आउन लागेको र नेपाल बसोबास गर्दा लाग्ने यातायातदेखि होटलको सम्पूर्ण खर्च आयोजक समितिले बेहोर्नेछ।
अन्तर्राष्ट्रिय रूपमा डुलेर फिसिङ गर्ने पर्यटकलाई नेपाल पनि राम्रो गन्तव्य हो भन्ने सन्देश दिन अन्तर्राष्ट्रिय महसिर एङ्लिङ प्रतियोगिता आयोजना गर्न लागिएको जैसीको भनाइ छ। “हाम्रो देशमा यति धेरै नदीहरू छन्। नेपालमा फिसिङ पनि हुन्छ भन्ने धेरै विदेशीलाई थाहा छैन। बरु भारततर्फ पर्ने महाकालीको पञ्चेश्वर र भुटानको विषयमा जानकार छन्,” उनी भन्छन्। १३ दिन चल्ने प्रतियोगितामा सहभागी हुन थुप्रै देशका एङ्लरले प्रस्ताव पठाएको तर आफूहरूले रोकेर राखेको उनी बताउँछन्। “पहिलोपल्ट आयोजना गर्न लागेको हुनाले जोखिम मोल्न नचाहेको हो। प्रतियोगितामा सहभागी हुन लाग्नुभएका सबै यो विधामा नाम चलेका खेलाडी हुनुहुन्छ,” उनी भन्छन्।
प्रतियोगिताका लागि ठाउँको रेकी गर्न आयोजक कमिटीले स्कटल्यान्डका नामुद माछाविज्ञ इयान मार्टिनलाई नेपाल बोलाएको थियो। मार्टिनले नेपाली माछाको विषयमा पीएचडी गरेका छन्। उनलाई गत अक्टोबरमै अध्ययनका लागि नेपाल बोलाइएको थियो। उनले कुन ठाउँमा माछा पर्छ, क्याम्प कहाँ राख्दा उपयुक्त हुन्छ र इन्टरनेटको सुविधा कहाँ सहज हुन्छ– यी सबैको जानकारीसहितको रिपोर्ट पेस गरेपछि प्रतियोगिता आयोजना गर्न सहज भएको जैसीको भनाइ छ।
“डा. इयान मार्टिनलाई बोलाएर १२-२५ नोभेम्बरसम्म अध्ययन गर्न लगाइएको थियो। उहाँकै प्रस्तावअनुसार प्रतियोगिता गर्ने ठाउँ निर्धारण गरेका हौँ,” उनी भन्छन्। प्रतियोगिताका लागि २ चैत (१६ मार्च) देखि सेती-कर्णाली नदीको दिपायल-ठूलीगाढमा क्याम्प सेटअप सुरु हुनेछ। त्यहाँ आठ वटा क्याम्प बनाइनेछ भने नेपालको पर्यटन विकासका लागि विदेशबाट आउने खेलाडीलाई काठमाडौँमा दुई रात, बर्दिया र दिपायलमा एक एक रात स्टार होटलमा राख्ने व्यवस्था पनि मिलाइएको आयोजक समितिले जानकारी दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij