Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

महानगरले बनाएको साइकल लेनमा त्रुटि नै त्रुटि

महानगरले बनाएको साइकल लेनमा त्रुटि नै त्रुटि

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेन र फुटपाथ विस्तारको काम लगभग सम्पन्न गरेको छ । यसअघि सडकमै हरियो रेखा कोरेर छुट्टाइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भनेर विरोध भएपछि चौडा फुटपाथसँगै साइकल लेन बनाइएको हो ।

तर साइक्लिस्टहरुले भने लेन प्रयोगमा जटिलता रहेको बताएका छन् । नेपाल साइक्लिङ संघका सचिव देवेन्द्र बस्न्यातले साइक्लिस्टहरुको दबाबपछि बल्ल लेन बनाउन लागिएको बताए । निर्माण भएपनि प्रयोगमा आउन नसकेको उनको भनाइ छ । उनले भने–'साइक्लिङमा लागि यो लेन सजिलो छैन । साइकल लेनको इन्ट्री प्वाइन्टमै समस्या देखियो । कतिपय ठाउँमा कनेक्सन पनि छैन । कतिपय ठाउँमा दुर्घटनाको जोखिम छ । धेरै ठाउँ साँघुरो छ । धेरै कुरा सुधार गर्नु पर्नेछ ।'

अर्का साइक्लिस्ट लक्ष्मण बानियाले विकसित देशमा आफूले साइकल कुदाऊँ कुदाऊँ लाग्ने आकर्षक साइकल लेन देखेको अनुभव सुनाउँदै पैदल यात्रु हिँड्ने र साइकल चलाउने लेन प्रस्ट रूपमा छुट्टाउनु पर्ने बताए । उनले भने–'यहाँ साइकल लेन भनिए पनि खास लेन छैन । साइकल चलाउने हो कि मान्छे हिँड्ने हो फरक नै छैन । डिजाइनरले आफूलाई साइक्लिस्ट सोचेर डिजाइन गर्नुपर्थ्यो तर त्यस्तो भएको छैन । आफूलाई थाहा नभए जान्ने मान्छेसँग परामर्श लिनुपर्थ्यो ।'

तीनकुने–माइतीघर सडक खण्डको साइकल लेनलाई लगभग १३ वर्षदेखि हेरिरहेका स्टोरी साइकलका सौरभ ढकाल भन्छन्–'पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । खाली इँटा मात्रै परिवर्तन गरिएको छ । ग्रेडिङ, क्वालिटी र सहजतामा पटक्कै काम भएको देखिँदैन । यो ठाउँमा नयाँ फुटपाथ बनाउने काम सुरु भएपछि हामीले महानगरलाई निवेदन पनि दिएका थियौँ । साइकल लेनको पुन डिजाइन गर्नुपर्छ भनेका थियौ । प्रयोगकर्ता मैत्री बनाउनुपर्छ भनेका थियौँ । साइकल चढ्ने मान्छे बढाउनुपर्नेमा यो लेनले त अझ घट्ने देखिएको छ । साढे तीन किलोमिटर पार गर्न झण्डै २० पल्ट ओर्लेर फेरि चढ्नुपर्छ ।  सरोकारवालासँग छलफल गरेर अझै पनि सुधार गर्ने मौका छ । ' 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट