Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

होटल संघका केन्द्रीय अध्यक्ष चुकेको सक्रियता : कोशी प्रदेश र चितवन बीच पर्यटन विकासमा सहकार्य

होटल संघका केन्द्रीय अध्यक्ष चुकेको सक्रियता : कोशी प्रदेश र चितवन बीच पर्यटन विकासमा सहकार्य

चितवन : कोशी प्रदेश र चितवनबीच पर्यटन विकास, प्रवर्द्धन तथा सहकार्य गर्ने उद्देश्यले मंगलबार चितवनको नारायणगढमा छलफल सम्पन्न भएको छ। कोशी पर्यटन वर्ष २०८२ का प्रतिनिधि र चितवनका पर्यटन व्यवसायी तथा सरोकारवाला संस्थाबीच भएको छलफलमा दुवै क्षेत्रका पर्यटन सम्भावनालाई संयुक्त रूपमा अघि बढाउने विषयमा जोड दिइएको थियो। छलफलमा बागमती प्रदेशको दक्षिणी क्षेत्र र कोशी प्रदेशबीच डाइभर्सिटी टुरिजम (विविधतायुक्त पर्यटन) प्रवर्द्धनका सम्भावनाबारे विचार–विमर्श भएको थियो। कार्यक्रममा दुई क्षेत्रबीच पर्यटन सहकार्य र अनुभव आदान–प्रदान गर्ने अनौपचारिक सहमति समेत भएको छ। कार्यक्रममा होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले कोशी प्रदेश र चितवनमा पर्यटनका अथाह सम्भावना रहेको उल्लेख गर्दै सहकार्यबाट दुवै पक्ष लाभान्वित हुने बताउनुभयो। उहाँले भरतपुर भ्रमण वर्ष २०२४ को अनुभव कोशी प्रदेश पर्यटन वर्ष २०८२ का लागि अनुकरणीय हुने धारणा राख्नुभयो।

त्यस्तै, चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले पर्यटकप्रति गरिने व्यवहारले नै पर्यटन व्यवसायको सफलता निर्धारण गर्ने बताउनुभयो। कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटनविद् डा. विश्व सुवेदीले भरतपुर भ्रमण वर्षको अनुभव प्रस्तुत गर्दै चितवन र कोशी प्रदेशबीच धार्मिक, पर्यावरणीय, पर्या–पर्यटन, हिमाली पर्यटन, पदमार्ग, जङ्गल पर्यटन तथा जल पर्यटनमा सहकार्य र व्यवसायिक आदान–प्रदानको व्यापक सम्भावना रहेको उल्लेख गर्नुभयो।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारा कार्की, सुमन घिमिरे, ओम पाण्डे, गोपाल भट्टराई, बसन्त पराजुली र ऋषिकेश अर्याललगायतले दुई क्षेत्रबीचका पर्यटन सम्भावनाबारे आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा पर्यटन वर्ष समितिका सहसंयोजक भविष्यकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सदस्य राजन दङ्गालले धन्यवाद ज्ञापन गर्नुभएको थियो। सो अवसरमा चितवनका पर्यटनकर्मीलाई कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा सहभागिताका लागि औपचारिक निम्तो समेत प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट