भैरहवा : चाडपर्व नजिकिएसँगै रुपन्देहीबाट प्रहरीले ठूलो परिमाणमा पटका बरामद गरेको छ । भारतबाट अवैध रूपमा भित्राएर व्यावसायिक कारोबार गर्ने प्रयोजनले ५ लाख रुपैयाँ मूल्यको पटका बोकेको जिपसहित तीन जनालाई रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौराबाट नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बा २१ च २२४९ नम्बरको पिकअप जिपबाट पटका बरामद गरेको हो । कोटहीमाई गाउँपालिका–५ का २५ वर्षीय धर्मराज यादवले चलाएको उक्त जिप रोकेर जाँच गर्दा ९ वटा बोरामा राखिएका विभिन्न प्रकारका पटका बरामद गरेको हो।
पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ का २५ वर्षीय धर्मराज यादव (चालक) र १८ वर्षीय सुशील यादव, सम्मरीमाई गाउँपालिका–७ का ३२ वर्षीय अक्लेश मौर्या र १९ वर्षीय सन्तोष कुर्मी रहेका छन् ।उनीहरूलाई शुक्रबार अदालतमा म्याद थपका लागि उपस्थित गराउने र त्यसपछि घटनाबारे थप विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले बताए ।डीएसपी चन्दका अनुसार दसैं सुरु भएपछि सीमा क्षेत्र र राजमार्गमा सुरक्षाकर्मीको तैनाथी बढ्ने तथा निगरानी कडा हुने अनुमानमा व्यवसायीले चाडपर्व सुरु हुनुअघि नै पटका भित्र्याएर कारोबार गर्न थालेका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij