चितवन : अण्डाको पोषण र स्वास्थ्यमा यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले विश्व अण्डा दिवसका अवसरमा आज भरतपुरमा सचेतना र्यालीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको सङ्घका अध्यक्ष विनोद पोख्रेलले जानकारी दिए। यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ।
अक्टोबर ९ अर्थात् असोज २३ गते मनाइने विश्व अण्डा दिवसको अवसरमा देशभरका विद्यालयमा विद्यार्थी तथा अभिभावकलाई अण्डाको पोषण र सन्तुलित आहारमा यसको महत्त्वबारे जानकारी गराउने कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पोख्रेलले बताए।
दिवसको अन्तिम दिन आज भरतपुरस्थित चितवन उद्योग सङ्घको परिसरबाट ‘एग वाक’ सुरु गरिएको हो। वीरेन्द्र क्याम्पसचोक हुँदै चौबीसकोठीसम्म पुगेर पुनः सङ्घको परिसरमा फर्किने र्यालीमा अण्डाको महत्त्वबारे सन्देश प्रवाह भएको थियो। कार्यक्रममा जुम्बा, डिजे डान्सलगायतका गतिविधि पनि समावेश हुदां कार्यक्रमको रौनकता निकै फरक अनुभूति गर्न सकिन्थ्यो ।
कार्यक्रमअन्तर्गत अण्डा उत्पादन, पोषण, स्वास्थ्य, बजार तथा उपभोगका विषयमा सरोकारवालाबीच प्यानल छलफल गरिएको थियो। । फिजिसियन डा. भोजराज अधिकारीका अनुसार एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनसँगै शरीरलाई आवश्यक विभिन्न भिटामिन तथा खनिज तत्त्व पाइन्छ। अण्डामा पाइने प्रोटिनले मांसपेशीको निर्माण तथा मर्मत र बालबालिकाको वृद्धि–विकासमा सहयोग गर्ने उनको भनाइ छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको उत्पादनसँगै उपभोग बढाउने र किसानलाई लागतअनुसारको मूल्य सुनिश्चित गर्ने उद्देश्यले यस्ता जनचेतनामूलक कार्यक्रम गर्दै आएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij