Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भरतपुरको सिटी हल ५ वर्षदेखि अधुरै, कुलमानले गरे अवलोकन

भरतपुरको सिटी हल ५ वर्षदेखि अधुरै, कुलमानले गरे अवलोकन

चितवन : चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन सिटी हल पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। हलको छानोमा जडान गरिएको फलामे ट्रसको डिजाइनमै त्रुटि देखिएपछि निर्माण कार्य लामो समयदेखि अलपत्र परेको आयोजनाले जनाएको छ । अधुरो अवस्थामा रहेको सिटी हलको सहरी विकास मन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन गरेका छन्। अवलोकनका क्रममा मन्त्री घिसिङले रोकिएको निर्माण कार्य छिटो अघि बढाउन सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

भवनको माथिल्लो भागमा जडान गरिएको करिब ६० मिटर लामो फलामे ट्रस २०८२ जेठमा आएको हुरीले भाँचिएको थियो। ट्रसको बीच भागमा आवश्यक सर्पोट नहुँदा संरचना कमजोर भई दुर्घटना भएको बताइएको छ। ट्रसको काम सम्पन्न नभएकै कारण अन्य निर्माण कार्यसमेत अघि बढाउन नसकिएको निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीले जनाएको छ। कम्पनीका सञ्चालक सहदेव खड्काले आफूहरूले डिजाइनअनुसार नै काम गर्दा दुर्घटना भएको दाबी गर्दै डिजाइनमै त्रुटि देखिएपछि नयाँ डिजाइन तयार गरिएको बताए। हाल नयाँ डिजाइन अध्ययनकै चरणमा रहेको छ।

निर्माण कम्पनीले गत मंसिर १ गते वर्कसप ड्रइङ पेश गरेको र त्यसको समीक्षा भइरहेको आयोजनाले जनाएको छ। ट्रस निर्माणका लागि आवश्यक सामग्रीसमेत हालसम्म आयात हुन नसकेको बताइएको छ । मन्त्री घिसिङले सम्पूर्ण संरचना तयार भइसकेपछि यस्तो घटना भएको भए ठूलो क्षति हुन सक्ने भन्दै आगामी दिनमा यस्ता कमजोरी नदोहो¥याउन विशेष ध्यान दिन निर्देशन दिए । ट्रस भाँचिएपछि निर्माण कार्य रोकिएको करिब १० महिनाभन्दा बढी भइसकेको छ। सिटी हलको भौतिक प्रगति करिब ६० प्रतिशत पुगेको दाबी गरिएको छ। मुख्य संरचनाका केही काम सम्पन्न भए पनि ट्रसको डिजाइन टुंगो नलाग्दा थप काम रोकिएको निर्माण पक्षले जनाएको छ।

सिटी हल २७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित वि.सं. २०७७ मंसिर १८ गते निर्माण सम्झौता गरिएको थियो। तर हालसम्म तीन पटक—२०८० फागुन १४, २०८१ माघ ३० र २०८३ असार मसान्तसम्म—म्याद थप भइसकेको छ। आयोजनाले तोकिएको म्यादभित्र पनि काम सम्पन्न नहुने र थप छ महिनासम्म समय लाग्ने जनाएको छ । ठेकेदार कम्पनीले लागत वृद्धि, समयमा काम नसकिएको र प्रारम्भिक डिजाइनअनुसार बनेको ट्रस भाँचिएको भन्दै भेरिएसन आवश्यक पर्ने अडान लिएको छ। इन्डो सगुन रौताहा जेभीले सिटी हल निर्माणको ठेक्का भ्याटसहित ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा लिएको हो।

बाइपास सडक नजिक जिल्ला समन्वय समितिको नाममा रहेको चार बिगाहा चार कट्ठा जग्गा भरतपुर महानगरपालिकाको नाममा ल्याएर सिटी हल निर्माण सुरु गरिएको हो । हाल सिटी हलको भित्री भागमा बिजुली, पानी जडान, प्लास्टर, प्लम्बिङलगायतका कामहरू भइरहेका छन्। सिटी हलमा दुई हजार जना अट्ने सुविधासम्पन्न मुख्य अडिटोरियम र ३०० जना क्षमताको अर्को सभा हल निर्माण गरिने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij