Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कुलमानसँगको सम्बन्धबारे हितेन्द्र : प्राधिकरणकै क्याडर हौँ, सोच लगभग मिल्छ

कुलमानसँगको सम्बन्धबारे हितेन्द्र : प्राधिकरणकै क्याडर हौँ, सोच लगभग मिल्छ

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्दै दुवै जना प्राधिकरणको ‘क्याडर’ भएकाले ऊर्जा क्षेत्रलाई समान हिसाबले बुझेको बताएका छन्।

अदालतले पुनर्बहाली गरेसँगै प्राधिकरण फर्किएका शाक्यले ऊर्जामन्त्री घिसिङसँग कसरी काम अगाडि बढ्छ भन्ने चासो रहेको उल्लेख गर्दै भने, ‘ऊर्जामन्त्रीज्यू र म दुवै प्राधिकरणका क्याडर हौँ। मैले ३०-३५ वर्ष काम गरेँ, उहाँले पनि ३० वर्ष जति काम गर्नुभयो। त्यसैले हामीले यो क्षेत्र दुवै जनाले एकै हिसाबले बुझेका छौँ होला जस्तो लाग्छ।’

शाक्यले चिलिमे जलविद्युत् आयोजनाको अनुभव सम्झँदै उनीहरू दुवै जनाले एकै खालका अनुभवहरू भोगेको बताए। उनले भने, ‘चिलिमे बनाउँदाखेरि मैले इलेक्ट्रोमेकानिकल डिजाइन गरेँ। त्यसमा सञ्चालनको थिति मैले बसालेँ।’

चिलिमेले नाफा कमाएर २०६५ सालमा ऋण तिरिसकेपछि मन्त्री घिसिङ त्यहाँ गएको र उनले थप आयोजनाहरू थपेको स्मरण गर्दै शाक्यले भने, ‘चिलिमेलाई सक्षम हामीले बनाएका थियौँ। त्यसैले हामीले चिलिमेको महत्त्व पनि सँगै बुझ्यौँ र त्यसअनुसार निजी क्षेत्र र विद्युत् प्राधिकरणले कम्पनीमार्फत जानुपर्दो रहेछ भन्ने सोचको प्रगति क्रममा हामी दुवै साक्षी छौँ।’

यद्यपि, वर्तमानमा भने आफ्नो सोचमा केही परिवर्तन आएको शाक्यले स्पष्ट पारे। उनी भन्छन्, ‘कम्पनी मात्रै होइन, विद्युत् प्राधिकरणको आफ्नै पनि आयोजनाहरू हुनुपर्छ। परिस्थितिको परिवर्तनले गर्दा प्राधिकरणले आफैँ बनाउनुपर्छ भन्नेमा चाहिँ अहिले मेरो सोच छ।’

शाक्यले धेरै कुरामा मन्त्री घिसिङ र आफ्नो सोच ‘लगभग उस्तै’ रहेको बताए। उनले आफूहरू सँगै बसेर काम गरेको अनुभव सम्झिए । जब घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक थिए, शाक्य एनईए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक थिए।

‘मैले एक जना मान्छे मात्रै एनईए इन्जिनियरिङमा एक्लै गएर, टिम पनि नभएको अवस्थामा काम गरेर एक वर्षमा मैले डेढ सयमा इन्जिनियरसहितको कम्पनी बनाएको थिएँ,’ उनले भने, ‘त्यो काम गर्दाखेरि उहाँकै सहयोग, उहाँको साथ पाएरै मैले काम गर्न सकेको हो।’

उनले २०७४ सालको पुरानो घटनालाई वर्तमानसँग तुलना गरे। ‘त्यतिबेला एनईए इन्जिनियरिङको सञ्चालक समितिको अध्यक्ष उहाँ हुनुहुन्थ्यो,’ शाक्यले भने, ‘अहिले म विद्युत् प्राधिकरणमा आउँदाखेरि विद्युत् प्राधिकरणको अध्यक्ष चाहिँ उहाँ मन्त्रीज्यू हुनुहुन्छ र करिब-करिब त्यही मोड दोहोरिँदै छ।’

शाक्यले थपे, ‘जस्तै त्यतिबेला राम्रो काम गरेर मैले एनईए इन्जिनियरिङमा गरेको कामलाई उहाँले विभिन्न कार्यक्रमहरूमा प्रशंसा गर्न पाउनुभएको थियो, अहिले पनि त्यसरी नै हुनेछ भन्नेमा म विश्वस्त छु।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट