काठमाडौँ : सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्ने आदेश दिएपछि मनोज सिलवालले आफू पदबाट अलग भइसकेको बताएका छन्।
सोमबार अदालतको फैसला आएलगत्तै सिलवालले रातोपाटीलाई भने, “आदेश आएदेखि म कार्यालय गएको छैन, बिदामा छु। अब प्राधिकरणको नेतृत्व पुनर्बहाली भएका शाक्यले नै सम्हाल्नेछन् र म त्यसमा कुनै हस्तक्षेप गर्दिनँ।”
सिलवालले अदालतको आदेश विपरीत आफू पदका लागि संघर्ष गर्ने व्यक्ति नभएको उल्लेख गर्दै भने, “सरकारले योग्य ठानेर दिएको समय अवधिमा प्राधिकरणको हितमा काम गर्ने प्रयास गरेको छु। छोटो समय भएकाले परिणाम देखिन नसके पनि संस्था लयमा फर्काउने प्रयास गरियो।”
सिलवालले व्यक्तिहरू परिवर्तन हुँदै गए पनि संस्था र ग्राहक स्थायी हुने भएकाले सबैले जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ भनी जोड दिएका छन्।
सरकारले गत असोज ५ गते हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरेको थियो। शाक्यले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यको पक्षमा परमादेश जारी गर्दै उनलाई पुनर्बहाली गर्ने आदेश दिएको हो।
अदालतले शाक्यलाई हटाउने निर्णय न्यायिक सिद्धान्तको प्रतिकूल भएको र उनको सहमति नलिई नियुक्ति गरिएको जनाएको छ। शाक्यले आदेश प्राप्त भएसँगै प्राधिकरणमा पदबहालीका लागि तयारी सुरु गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij