काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार विशेष संयोग देखिएको छ। एक आयुक्त अनिवार्य अवकाशमा बाहिरिएका छन् भने दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय भएको छ।
आयुक्त किशोर सिलवाल ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन्। उनले २०७७ माघमा उच्च अदालतका कामु मुख्य न्यायाधीशबाट आयुक्तको पद ग्रहण गरेका थिए र पाँच वर्ष काम गरेर सोमबार आयोगबाट बिदाइ भएका छन्।
सहसचिव राजेन्द्र कुमार पौडेल र पुष्कर सापकोटालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। पौडेल प्रशासनतर्फका सचिव बनिरहेका छन् भने सापकोटा कानुनतर्फका सचिवमा बढुवा भएका छन्। सिलवालको बिदाइ सोमबार भएको छ, तर पौडेल र सापकोटाको बिदाइ भने अझै तय छैन।
प्रशासनतर्फको सचिवमा बढुवा गर्नका लागि लोकसेवा आयोगको बढुवा समितिले पौडेलसहित दुई अन्य व्यक्तिको नाम सिफारिस गरेको थियो। सिफारिसमा वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे पनि थिए। मन्त्रिपरिषद् बैठकले सबैभन्दा वरिष्ठ रहेका पौडेललाई बढुवा गरेको हो। उनका पदस्थापन कोशी प्रदेशको प्रमुख सचिव पदमा हुन सक्ने सम्भावना रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतले जनाएका छन्।
कानुनतर्फका सचिव सापकोटालाई बढुवा गर्दै पदस्थापन गरिएको छ। सापकोटाले फणीन्द्र गौतमको स्थान लिएका हुन्, जो मङ्सिर १८ गते अनिवार्य अवकाशमा गएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij