काठमाडौं : प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्दै यसलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी बनाउन नयाँ राजनीतिक इच्छाशक्ति र साझा प्रतिबद्धताको आवश्यकता रहेको बताएकी छन्।
सार्कको ४१औँ चार्टर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले क्षेत्रीय सहकार्यमार्फत चुनौतीहरूको सामना गर्दै जनताको आकांक्षा पूरा गर्न सबै सदस्य राष्ट्र एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरिन्।
उनले भनिन्, “झन्डै चार दशकअघि हाम्रा संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिको सपना देखेर एकीकृत दक्षिण एसियाको परिकल्पना गरे। त्यही सामूहिक दूरदृष्टिले सार्क जन्मियो, जसले क्षेत्रीय सहयोग र जनकल्याण प्रवर्द्धन गर्ने लक्ष्य बोकेको छ।”
प्रधानमन्त्री कार्कीका अनुसार विगतका वर्षहरूमा सार्कले आपसी समझदारी र पारस्परिक विश्वास अभिवृद्धि गर्ने भूमि तयार पार्न सफल भए पनि खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता जटिल चुनौतीहरू समाधान गर्न अझ सक्रिय क्षेत्रीय सहकार्य आवश्यक छ।
नेपालले हाल अध्यक्ष राष्ट्रको रूपमा सार्क चार्टरका सिद्धान्तअनुसार सबै सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको उनले जानकारी दिइन्। सामूहिक प्रयासले साझा विकास लक्ष्यतर्फको यात्रालाई तीव्र बनाउन सकिने र दक्षिण एसियाली जनताका लागि ठोस लाभ दिलाउन सकिने उनको विश्वास छ।
चार्टर दिवसले सदस्य राष्ट्रहरूबीच नयाँ उत्साह, गहिरो सहकार्य र एकताबद्ध क्षेत्रीय भावना जगाओस् भन्ने शुभकामना पनि प्रधानमन्त्री कार्कीले व्यक्त गरिन्।
स्थापना : ८ डिसेम्बर १९८५, ढाका
सदस्य राष्ट्र : अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलङ्का
सचिवालय स्थापना : १७ जनवरी १९८७, काठमाडौँ
सबैभन्दा उच्च निकाय : सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुख सम्मिलित शिखर बैठक
शिखर बैठक अन्तराल : सामान्यतया २ वर्ष
हालसम्मका शिखर सम्मेलन : १८, अन्तिम सन् २०१४, काठमाडौँ
महत्त्वपूर्ण प्रावधान :
सबै निर्णय सर्वसम्मतिमा
विवादास्पद/द्विपक्षीय विषय एजेण्डाबाहिर
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij