काठमाडौं : नेकपा एमाले को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको समूह प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने काममा जुटेका छन्।
विभागका प्रमुख अधिकारीले महाधिवेशनमा आउनेमध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आएको बताएका छन्। १ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनित हुनेछन्। मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले जानकारी दिए।
तात्कालीन नेकपा (एस) को ‘घरफर्क अभियान’ बाट आउनेमध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएको उनको भनाइ छ। उीहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने अधिकारीले बताए।
अधिकारीका अनुसार प्रतिनिधि छनौटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या समाधान भएको छ। ती जिल्लाहरुमा प्रतिनिधि छनौट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड बनाएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरेको थियो।
जसअनुसार दुवै जिल्लाबाट सर्वसहमत रुपमा प्रतिनिधि छनौट भएर आएका छन्। त्यसबाहेक तीनवटा जिल्लामा प्रतिनिधि छनौट विषयमा उजुरी परेकाले निराकरण गर्ने काम भइरहेको अधिकारीले बताए। प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानविन भइरहेको उनले बताएइ। संगठन विभागले मापदण्ड नपुगेका कुनै पनि प्रतिनिधिलको कार्ड नबनाउने तयारी गरेको छ।
एमालेको महाधिवेशन बन्दसत्र हलमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन्। उनीहरु सल्लाहकार परिषद्का सदस्यहरु हुन्। सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन्। प्रतिनिधि हुन नसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन्।
विभागले दिएको जानकारीअनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचयपत्र छपाइको काम पनि धमाधम भइरहेको छ।
हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ । बिहीबारसम्म सम्पूर्ण प्रतिनिधि छनौट र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij