काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालयको निरीक्षण गरेका छन्।
मन्त्री खरेलको भ्रमणको क्रममा एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले उनलाई भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र क्षतिबारे जानकारी गराएका थिए। आन्दोलनका क्रममा लैनचौरस्थित एनसेलको केन्द्रीय कार्यालयमा आगजनी, लुटपाट र तोडफोड हुँदा करिब रु ६५ करोड बराबरको क्षति भएको थियो। हाल कम्पनीले नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ।
निरीक्षणपछि मन्त्री खरेलले भने, “मैले विद्यार्थी र जेनजीका लागि केही गर्नुहोस् भनेको थिएँ। एनसेलले नयाँ प्याकेज ल्याउने योजना बनाएको सुन्दा खुशी लागेको छ। साथै सगरमाथा आधार शिविर र अन्य दुर्गम क्षेत्रमा टेलिकम पहुँच विस्तारको योजना पनि सुनेँ।”
एनसेलले जेनजी लक्षित प्याकेज सार्वजनिक गर्ने र १०० जना विद्यार्थीलाई रु १ करोड छात्रवृत्ति प्रदान गर्ने तयारी गर्दैछ। साथै, कम्पनीले सगरमाथा क्षेत्रको गोखरसेपसम्म ५ वटा नयाँ टावर राखेर फोरजी सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ।
मन्त्री खरेलले भने, “एनसेलमा ठूलो क्षति भएको छ। सरकार आवश्यक सहयोगका लागि तयार छ। केही नीतिगत र विवादजन्य समस्या छन्, तर ती कानुनसम्मत रूपमा समाधान गर्नुपर्छ।”
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, “नेपालको टेलिकम सेवा अझ अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक छ। सरकारले यसमा सहजीकरण गर्नु जरूरी छ। टेलिकम्युनिकेसन आजको जीवनका लागि अत्यावश्यक सेवा हो, त्यसैले सरकारको ध्यान आवश्यक छ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij