काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्न कुनैपनि पार्टीको अध्यक्ष एक व्यक्ति दुई पटकभन्दा बढी नहुने व्यवस्था कानुनमै गर्नुपर्ने बताएका छन्।
सोमबार ईश्वर पोखरेल समूहको अन्तरक्रियामा बोल्दै पाण्डेले भने, पार्टीको विधान र देशको कानुनमा लोकतान्त्रिकरणलाई सुनिश्चित गर्नु आवश्यक छ। उनले एमालेमा केपी ओली नेतृत्वपछि लोकतान्त्रिक प्रक्रियामा गम्भीर विचलन आएको आरोप लगाए।
पाण्डेका अनुसार, “उहाँले लोकतान्त्रिकरणको सबै कुरा मिच्दै पार्टीलाई व्यक्तिवादी बनाउनु भयो। यसले पार्टी जनताको बिचमा साँघुरिने र आइसोलेसनमा जाने अवस्था सिर्जना गरेको छ।”
उनी थप्छन्, “एमालेमा नवपुस्ताको सहभागिता विस्तार हुनुपर्नेमा उल्टो भइरहेको छ। चुनाव नहुने पार्टीमा नयाँ पुस्ताले किन सहभागी हुने भनेर प्रश्न उठाइरहेका छन्।”
भदौ २३ र २४ का जेनजी आन्दोलनका युवाहरूले पनि पुराना पार्टीहरूमा लोकतान्त्रिकरणको माग उठाएको पाण्डेले स्मरण गराए।
उनले जोड दिए, “एक व्यक्ति एउटै पार्टीको अध्यक्ष दुई पटकभन्दा बढी नहुने व्यवस्था कानुनमा राख्नुपर्छ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij