हेटौँडा : बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको निजी निवासमा तोडफोड तथा आगजनी गरेको आरोपमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। मकवानपुर जिल्ला अदालतले आइतबार हेटौँडा उपमहानगरपालिका–११ का ३७ वर्षीय सुरेन्द्र राना मगर र ३६ वर्षीय सुजन अधिकारीलाई थुनामा पठाउने आदेश गरेको हो।
अदालतको इजलास नम्बर–२ की न्यायाधीश निर्मला शर्मा सुवेदीको एकल इजलासले आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान पूरा भएपछि दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतले जनाएको छ।
अदालतको आदेशसँगै उनीहरूलाई कारागार कार्यालय भीमफेदी, मकवानपुर पठाइएको छ। गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा हेटौँडा–११ नवलपुरस्थित पूर्व मुख्यमन्त्री पौडेलको निवासमा ढुंगामुढा, तोडफोड तथा आगजनी भएको थियो।
उक्त घर सुशील पौडेलको नाममा दर्ता छ, जो पूर्व मुख्यमन्त्री पौडेलका छोरा हुन्।
घटनामा संलग्न भएको आरोपमा राना मगर र अधिकारीलाई प्रहरीकर्मीद्वारा कात्तिक २६ गते नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको अनुसन्धान सम्पन्न गरी उनीहरूविरुद्ध ‘आपराधिक उपद्रव’ मुद्दा दर्ता गरी मंसिर १७ गते अदालतमा पेश गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij