काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले देश अहिले अनेकौं चुनौतीको सामना गरिरहेको बताएका छन्। संसद् सेवा दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले यस विषयमा आफ्नो धारणा राखेका हुन्।
उनले भने, “देशमा थुप्रै समस्या खडा छन् र त्यसलाई पार लगाउन गम्भीर भएर लाग्नैपर्छ। सङ्घीय संसद् देशको मुख्य अङ्ग भएकाले समस्या हेरेर मात्र बस्नु हुँदैन, हरेक चुनौतीको समाधानमा संसद् सचिवालय एकताबद्ध भएर अघि बढ्नुपर्छ।”
अध्यक्ष दाहालले जिम्मेवारीबोधको महत्वमाथि जोड दिँदै भने, “जिम्मेवारी ठुलो वा सानो हुँदैन। जहाँ जति जिम्मेवारी लिएका छौँ, त्यसलाई पूरा गर्न सके सामान्य कर्मचारी पनि ठुलो बन्न सक्छ। यदि हामी ठुलो कुर्सीमा बसेर जिम्मेवारी पूरा गर्न सकेनौँ भने त्यो कुर्सी मात्र ठुलो हुन्छ, हामी होइनौं। त्यसैले सबैले आफैंलाई चिन्दै जिम्मेवारीहरू एकताबद्ध रूपमा अघि बढाउनुपर्छ।”
कार्यक्रममा अध्यक्ष दाहालले सङ्घीय संसद्लाई प्रभावकारी बनाउने उद्देश्यले मातहतका कर्मचारीहरूलाई सक्रिय, जिम्मेवार र समर्पित भएर काम गर्न निर्देशनसमेत दिएका थिए।