काठमाडौँ : विदेशमा पढेर फर्केका युवाहरूले विदेशमै रहेका नेपालीहरूलाई मताधिकार दिन दबाब बढाएका छन्। आइतबार उनीहरूले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।
विदेशमा पढेका विद्यार्थीहरूका तर्फबाट प्रस्तुत ज्ञापनपत्रमा भनिएको छ, “हामी विदेशमा पढेर फर्केका युवाहरू हौं। आज हामी हजारौं नेपाली विद्यार्थीको तर्फबाट बोल्न आएका छौं।”
ज्ञापनपत्रमा विदेशमा रहेका नेपालीहरूले विभिन्न कारणले आफ्नो देशमा प्रत्यक्ष मतदान गर्न नपाएको र लोकतन्त्रको मूल अधिकारबाट बञ्चित भएको जनाइएको छ। उनीहरूले भनेका छन्, “नेपालमा लोकतन्त्र आएको १७/१८ वर्ष भइसक्यो। तर विदेशमा रहेका नेपालीहरूले निर्वाचनमा भोट हाल्ने अधिकार अझै पाएका छैनन्।”
विदेशमा बस्ने नेपालीहरू दक्ष जनशक्ति भएकाले उनीहरूको योगदान पैसाको रूपमा, ज्ञानको रूपमा वा सीपका रूपमा नेपालको विकासमा महत्वपूर्ण छ। ज्ञापनपत्रमा उल्लेख छ कि उनीहरूलाई जन्मसिद्ध अधिकार मताधिकार दिनुपर्ने आवश्यकता छ र आगामी फागुन २१ को निर्वाचनदेखि यो सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।
विदेशमा रहेका नेपालीहरूलाई नेपालको नेतृत्व छान्ने अवसर दिन निर्वाचन आयोगले राजनीतिक दबाबभन्दा माथि उठेर निर्णय गर्नुपर्ने अपेक्षा उनीहरूले व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij