काठमाडौँ : नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ गतेदेखि सुरु हुने भएकाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टी सदस्यका घर–घरमा उद्घाटन सत्रमा सहभागी हुन पत्र पठाउन थालिएको छ।
बागमती प्रदेशका इञ्चार्ज तथा महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईका अनुसार पत्रमार्फत सदस्यलाई लोकतन्त्रका पक्षधर शक्तिलाई एकजुट गर्न र राष्ट्रियता, संविधान र सामाजिक न्यायको रक्षा गर्ने महत्त्वको महसुस गराउने प्रयास गरिएको छ।
अध्यक्ष ओलीले महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र, सुशासन र समृद्ध नेपाल–सुखी नेपालीको सपना पूरा गर्ने अवसरका रूपमा चित्रण गरेका छन्। उनले वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर चुनौतीको समय’ भएको पनि उल्लेख गरेका छन्।
महाधिवेशनको उद्घाटन मङ्सिर २७ गते दिउँसो १२:३० बजे भक्तपुरको सल्लाघारीमा हुने छ। उद्घाटनका लागि बागमती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता तथा जनसमुदायलाई विशेष रूपमा उपस्थित गराउने योजना बनाइएको सचिव भट्टराईले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij