Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

न्यायाधीश प्रधान: प्रविधि महिलामाथिको हिंसामा प्रयोग हुन नदिने

न्यायाधीश प्रधान: प्रविधि महिलामाथिको हिंसामा प्रयोग हुन नदिने

काठमाडौँ : सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने बताएकी छन्। उनले आइतबार नेपाल ल क्याम्पस, महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा नेपाल टुरिजम बोर्डको संयुक्त छलफल कार्यक्रममा समाजमा परम्परागत हिंसा कायमै रहेको र यसको स्वरुप परिवर्तन भएर विद्यमान रहेको बताइन्।

न्यायाधीश प्रधानले भनिन्, “प्रविधिसँग समाज जोड्नुपर्छ र परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्छ। अदृश्य शक्तिले महिलाको आवाजलाई बाहिर आउन दिइरहेको छैन, त्यसैले महिला हिंसाविरुद्ध अन्तरस्थितिसँग जोडिनुपर्छ।”

उनीनले घरेलु हिंसा मामलामा ९९ प्रतिशत पीडित महिला भएको बताइन् र पुरुष पीडित भने एक प्रतिशतभन्दा कम रहेको जानकारी दिइन्। हिंसा घर, सार्वजनिक स्थल र कार्यस्थलमा हुने र यौन मात्र नभएर अधिकारको उल्लङ्घन पनि हुने उनको भनाइ थियो। न्यायाधीश प्रधानले पुरुषसँग सहकार्य गर्दा समाजमा छिटो र प्रभावकारी परिवर्तन आउन सक्ने उल्लेख गरिन्।

कार्यक्रममा नेपाल ल क्याम्पसकी प्राध्यापक मनिषा पौडेलले विगत चार वर्षदेखि क्याम्पसले महिला हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन गर्दै आएको र यस वर्ष नेपाल टुरिजम बोर्ड तथा एफडब्लुएलडीको सहयोगमा फरक तरिकाले सञ्चालन गरिएको जानकारी दिइन्।

भाष्कर तेजश्री मेमोरियल फाउन्डेशनकी डा. रिता थापाले महिला र बालबालिकामा हुने हिंसाबारे अध्ययन प्रस्तुत गर्दै स्कुलमा बालबालिकामाथि ६६ प्रतिशत र शिक्षकबाट २२ प्रतिशत हिंसा हुने तथ्यांक सार्वजनिक गरिन्। लुम्बिनी प्रदेशको अध्ययन अनुसार ७४ प्रतिशत महिलामा यौन दुरव्यवहार हुने र १० वर्षमुनिका ३१ प्रतिशत बालबालिकामा यौन हिंसा हुने पाइएको छ।

कार्यक्रममा विद्यार्थीहरूले “हिंसालाई शुन्यमा झारौं” नाटक प्रस्तुत गरे भने महिला हिंसाविरुद्धका कला प्रदर्शनी पनि आयोजना गरिएको थियो। अन्त्यमा प्यानल डिस्कसन भएको थियो, जसमा महिला आयोगकी विद्याकुमार सिन्हा, मानवअधिकारवादी रेणु राज भण्डारी, र एफडब्लुएलडीकी अधिवक्ता सुष्मा गौतम सहभागी भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट