काठमाडौँ : भक्तपुर नलिन्चोक हेलिपोर्ट निर्माणको भ्रष्टाचार प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीको विशेष अदालतमा थुनछेक बहस जारी छ।
विशेष अदालतका न्यायाधीश त्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा बहस भइरहेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको आरोपमा बुधबार इन्जिनियर प्रदीप अधिकारीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
अख्तियारले अधिकारीसहित ६ जना कर्मचारी र परामर्शदाता कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो। साढे १७ करोड लागत अनुमानमा तयार गरिएको हेलिपोर्ट हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ किलोमिटर पूर्वमा रहेको यो हेलिपोर्ट ७ असार ०८१ देखि व्यावसायिक सञ्चालनको लागि खोलेको थियो।
अख्तियारको निष्कर्ष अनुसार, हेलिपोर्ट संचालनयोग्य नरहेको, असुरक्षित र अनुपयुक्त स्थानमा व्यावसायिक योजना, लाभ–लागत विश्लेषणविना अत्यधिक रकम खर्च गरी निर्माण गरिएको थियो। यसैगरी, बदनियतपूर्ण तरिकाले आयोजना अघि बढाइएको, कानुनको पालना नगरेको र प्रक्रियागत अनेकौं त्रुटिहरू भएको समेत आयोगले औँल्याएको छ।
अख्तियारले महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। प्राधिकरणका प्रबन्धक नलविक्रम थापा र उपप्रबन्धक इन्जिनियर सवृद्धि श्रेष्ठ पनि प्रतिवादीमा परेका छन्।
सबै प्रतिवादीविरुद्ध संयुक्त रूपमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो कायम गरिएको छ। यसैअनुरूप परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि र उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij