Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

तीन अर्ब रुपैयाँ बजेट नवप्रवर्तन तथा अनुसन्धानमा विनियोजन गर्ने योजना सार्वजनिक

तीन अर्ब रुपैयाँ बजेट नवप्रवर्तन तथा अनुसन्धानमा विनियोजन गर्ने योजना सार्वजनिक

ललितपुर : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान र वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्।

शनिबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा आयोजित ४३औँ वार्षिकोत्सव विशेष पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री पुनले विज्ञान र प्रविधिमा पर्याप्त लगानी नहुँदा र यसलाई अर्थतन्त्रबाट अलग राखिँदा क्षेत्र कमजोर भएको बताए। उनका अनुसार विज्ञान र प्रविधि पछाडि परेसँगै अर्थतन्त्र कमजोर भएपछि नेपाली समाज पनि पिछडिएको छ।

उनले वैज्ञानिक सोच र प्रविधि विकासको गति सुस्त हुनु विगतदेखि वर्तमानसम्मका संरचनागत समस्याको परिणाम भएको स्पष्ट पार्दै भने, “आर्थिक अभावका कारण नेपालीले दुःख भोगिरहेका छन्। पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म हामी पछि पर्नुको कारण विज्ञान र प्रविधिप्रति बेवास्ता हो।”

मन्त्री पुनले विज्ञान तथा प्रविधिसँग सम्बन्धित शैक्षिक र अनुसन्धानमूलक संस्थाहरूलाई राजनीतिक प्रभावबाट स्वतन्त्र राख्न जोड दिए। उनले नास्टले सीमित स्रोतसाधनमा पनि प्रभावकारी नतिजा दिनसक्ने विश्वास व्यक्त गर्दै भने, “विज्ञानको प्रभावकारी प्रयोग गर्दै अनुसन्धानलाई व्यावहारिक रूपान्तरण गर्नुपर्छ। अनुसन्धान र आविष्कारका क्षेत्रमा कन्जुस्याइँ नगरी सरकारले योजनाबद्ध विकासमा जोड दिनुपर्छ।”

उनले आफूलाई जिम्मेवारी आएमा कम्तीमा तीन अर्ब रुपैयाँ बजेट अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्ने योजना सार्वजनिक गरेका छन्। नेपालमा व्यक्तिगत स्तरमा नवप्रवर्तन केन्द्र सञ्चालन गर्ने परम्परा न्यून रहेकोमा चिन्ता व्यक्त गर्दै उनले नास्टको प्रयास प्रशंसनीय रहेको बताए।

सो अवसरमा नास्टले विभिन्न अनुसन्धानमूलक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका १३ जना वैज्ञानिकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ। साथै, आजीवन विज्ञान तथा प्रविधि अनुसन्धानमा समर्पित पाँच जना वरिष्ठ वैज्ञानिकलाई कदरपत्र हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट