काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरेका ठूला आर्थिक र सामाजिक परिवर्तनका दाबीहरूलाई तथ्यहीन भन्दै कडा आलोचना गरेका छन्।
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत प्रसाईँलाई सम्बोधन गर्दै देशको वास्तविक आर्थिक अवस्था उल्लेख गर्दै हालको परिस्थितिमा ती दाबीहरू असम्भव भएको स्पष्ट पारेका छन्।
पुनले लेखेका छन्, “शिक्षा मन्त्री भएर पनि पैसाको अभावका कारण मैले धेरै शिक्षकहरूलाई स्थानिय भत्ता र महंगी भत्ता दिन सकिन। छाना नभएका, कक्षा कोठा नभएका विद्यालयलाई सहयोग दिन आउँदा खाली हात फर्किनु परेको छ। शिक्षकको अभाव भएकाले एक जना भए पनि शिक्षक माग्ने स्कूललाई शिक्षक पठाउनको लागि आवश्यक बजेट छैन।”
उनले प्रसाईँले गरेका ‘छ लाख जनतालाई कालो सूचीबाट हटाउने’, ‘सेना र प्रहरीको मासिक तलब १ लाख गर्ने’, र ‘२० लाखसम्मको ऋण मिनाहा गर्ने’ जस्ता घोषणाहरू असम्भव भएको र त्यसले बैंकमा रहेका जनताको पैसामा जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
मन्त्री पुनले प्रसाईँलाई आर्थिक यथार्थ बुझ्न र “छापाखानामा किताब छापे जस्तै पैसा छापेर दाबी नगर्न” आग्रह गर्दै भने कि अव्यवहारिक आश्वासनले जनतालाई भ्रममा पार्न सक्ने भएकाले सतर्क रहन जरुरी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij