काठमाडौँ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय राजनीतिको जटिल चुनौतीहरू सामना गर्नसक्ने सक्षम नेताका रूपमा केपी शर्मा ओलीलाई पुनः पार्टी नेतृत्व दिन लागिएको बताएका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा ११औँ महाधिवेशन प्रचार समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको राजनीतिक स्थिरता, राष्ट्रिय स्वार्थको रक्षा तथा पार्टीको भविष्य सुरक्षित गर्न ओली नै उपयुक्त विकल्प रहेको उल्लेख गरे। पोखरेलका अनुसार, ‘ओली मुलुकको राजनीतिको चुनौतीलाई दृढतापूर्वक सामना गर्नसक्ने नेता हुन्, यस यथार्थलाई सबैले बुझ्न आवश्यक छ।’
महासचिव पोखरेलले ओलीविरुद्ध भइरहेको घेराबन्दीलाई व्यक्तिगत आक्रमण नभई एमाले पार्टी, पार्टीका नीति तथा नेपाल राष्ट्रलाई कमजोर पार्ने प्रयासका रूपमा व्याख्या गरे। उनका अनुसार, भूराजनीतिक स्वार्थ लिंदै नेपाललाई ‘द्वन्द्वको खेल मैदान’ बनाउन खोज्ने तत्वहरूसँग लड्न पार्टी दृढ छ।
उनले एमालेलाई नेपालको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा अडिग रहने एक मात्र राजनीतिक शक्तिका रूपमा वर्णन गर्दै त्यो नेतृत्व जिम्मेवारी ओलीले सफलतापूर्वक वहन गर्दै आएको बताए। “हामी उहाँलाई अब स्थापित गर्न खोजिरहेका छैनौँ, उहाँ पहिलेदेखि नै राष्ट्रिय राजनीतिमा स्थापित नेता हुनुहुन्छ,” उनले भने, “हामी उहाँलाई देशले सामना गरिरहेका चुनौतीहरू सम्बोधन गर्न सक्षम नेतृत्वका रूपमा अघि बढाउन चाहन्छौँ।”
उनले पार्टीभित्र एकताको आवश्यकता जोड्दै प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिनु आजको आवश्यकता भएको बताए। महाधिवेशनलाई सफल पार्न, पार्टीको प्रतिष्ठा बचाउन र राष्ट्रिय राजनीतिको चुनौतीहरू सामना गर्न केपी शर्मा ओलीको नेतृत्वमा एकताबद्ध हुन उनले नेता तथा कार्यकर्तालाई आह्वान गरे।
महासचिव पोखरेलले कार्यक्रममा सहभागी सबैलाई ११औँ महाधिवेशनको उद्घाटन समारोहमा व्यापक उपस्थिति जनाउन पनि आग्रह गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij