Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

टुकुचा सफाइमा ठूला कदम: डेढ करोड लिटर पानी शुद्ध गर्ने केन्द्र निर्माण

टुकुचा सफाइमा ठूला कदम: डेढ करोड लिटर पानी शुद्ध गर्ने केन्द्र निर्माण

काठमाडौँ : काठमाडौंको मुटुमै बग्ने टुकुचा खोलालाई शुद्ध गरेर वाग्मतीमा मिसाउन दैनिक डेढ करोड लिटर फोहोर पानी प्रशोधन गर्न सक्षम प्रशोधन केन्द्र निर्माण भइरहे को छ।

काठमाडौँका त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभान क्षेत्र मिलाएर २.५३ हेक्टरमा बन्ने यो केन्द्र एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋणमा निर्माण हुँदैछ। कुल लागत रु ३ अर्ब १८ करोड रहेको परियोजना आगामी मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

टुकुचा खोलाबाट आउने पानीलाई पाइपमार्फत प्रशोधन केन्द्रमा पुर्‍याइने र प्रशोधनपछि वाग्मतीमा मिसाइनेछ। यसैसँगै, सहउत्पादनका रूपमा ८०० किलोवाट विद्युत् समेत उत्पादन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ।

हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधनका मुख्य संरचना तीव्र गतिमा निर्माण भइरहेका छन्। तर, स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचना निर्माण प्रभावित भएको छ। ललितपुरमा विद्युत् उत्पादनका संरचना मात्र बन्नेछन् भने मुख्य प्रशोधन केन्द्र त्रिपुरेश्वरमै रहनेछ।

मन्त्री घिसिङले शनिबार स्थल निरीक्षण गर्दै निर्माण प्रगति, समय तालिका, अवरोध र समाधानका उपायबारे परियोजना व्यवस्थापन, परामर्शदाता तथा निर्माण कम्पनीसहित विस्तृत समीक्षा गरेका थिए।

उनले बागमती सफाइलाई सरकारको प्रमुख प्राथमिकतामा रहेको भन्दै सहायक खोला र नदी किनार व्यवस्थापनमा आवश्यक नीतिगत सहयोग उपलब्ध गराइने बताए। निर्माण कम्पनीले पनि त्रिपुरेश्वर क्षेत्रका संरचना समयमै पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट