घोडाघोडी (कैलाली) : कैलालीका मुक्त कमलरीहरूले आफ्नो मागसहितको ज्ञापनपत्र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएका छन्।
शनिबार घोडाघोडी नगरपालिका–२ साँडेपानीमा आयोजित मुक्त कमलरी विकास मञ्चको १५औँ साधारण सभामा प्रमुख अतिथिका रूपमा उपस्थित मुख्यमन्त्री शाहलाई कैलाली अध्यक्ष ब्रिन्दा चौधरीले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो। ज्ञापनपत्रमार्फत मुक्त कमलरीहरूको समस्या समाधानमा प्रदेश सरकार गम्भीर हुनुपर्ने माग गरिएको छ।
कार्यक्रममा मुक्त कमलरीहरूको शिक्षा, स्वास्थ्य, नागरिकता, रोजगारी र गास–बाससम्बन्धी चुनौतीहरू प्रस्तुत गरिएको थियो। केन्द्रिय अध्यक्ष हिरामती चौधरीले देशभर १२ हजार ८६९ जना मुक्त कमलरी रहेका बताउँदै सात हजार पाँचसय मात्रै परिचयपत्र पाएका जानकारी दिनुभयो। उनले २०६० सालमा कमलरी घोषणा भए पनि समाधानतर्फ सरकार उदासिन रहेको गुनासो व्यक्त गर्नुभयो।
ज्ञापनपत्रमा मुक्त कमलरीलाई १८–३६ महिनासम्मको सिपमूलक तालिममा जोड्नुपर्ने माग समेत समावेश गरिएको छ।
मुख्यमन्त्री शाहले मुक्त कमलरीका समस्या समाधानमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै बरघर, भलमन्सा प्रथा सम्बन्धी कानुनी बिधेयक गत जेठमा सदनमा पेश भएको जानकारी दिनुभयो। उहाँले मुक्त कमलरीका समस्या उक्त बिधेयकमा समावेश गरिने बताउँदै, “मुक्त कमलरीको जीवन सहज बनाउन हाम्रो ढोका सधैं खुला छ। बजेट उपलब्ध गराइसक्यौं, आवश्यक तालिम र कार्यक्रमका लागि छलफल गर्न तयार छौं।”
कार्यक्रममा भजनी नगरपालिकाका प्रमुख केवल चौधरी, घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावत, मुक्त कमलरी विकास मञ्चका सदस्य, बर्दियाका विष्णु चौधरी र प्राकृतिक स्रोत व्यवस्थापन सञ्जालका बल्लु चौधरीले पनि मन्तव्य राख्नुभयो।
घोडाघोडी नगरपालिकाका प्रमुख रावतले मुक्त कमलरीको समस्या समाधानका लागि एकीकृत कानुनको आवश्यकतामा जोड दिनुभएको थियो। उहाँले सेवा सुविधा समान रूपमा प्रदान गर्न र व्यवस्था स्पष्ट बनाउन एकीकृत कानुन अनिवार्य भएको बताउनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij