Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

उपराष्ट्रपति यादवद्वारा निद्राजन्य विकारमाथि सचेतना र अनुसन्धानको आवश्यकता औँल्याइयो

उपराष्ट्रपति यादवद्वारा निद्राजन्य विकारमाथि सचेतना र अनुसन्धानको आवश्यकता औँल्याइयो

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकार (स्लिप डिसअडर्स) को चुनौतीलाई सामना गर्न थप सचेतना र व्यवस्थित अनुसन्धानको आवश्यकता औँल्याउनुभएको छ।

आज यहाँ आयोजित नेप्लिज सोसाइटी अफ स्लिप डिसअडर्सको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले व्यस्त जीवनशैली, अस्वस्थ खानपान, प्रविधिको अत्यधिक प्रयोग र सहरीकरणका कारण निद्रासम्बन्धी विकार तीव्र रुपमा बढिरहेको बताए। उहाँले मानसिक तनाव, बेरोजगारी, आर्थिक असुरक्षा तथा मधुमेह र उच्च रक्तचापजस्ता रोगले पनि निद्रामा गहिरो असर पार्ने भएकाले समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो।

उपराष्ट्रपति यादवले विद्यालयदेखि समुदायसम्म निद्राको महत्वबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको सङ्ख्या बढाउने, स्वास्थ्य नीतिमा निद्राजन्य विकारको पहिचान र उपचारलाई प्राथमिकता दिने तथा नेपालमा आधारित अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्नुपर्ने बताए।

“निद्राजन्य विकारले व्यक्तिगत मात्र नभई सामाजिक र आर्थिक विकासमा पनि प्रत्यक्ष असर पार्न सक्छ,” उहाँले भने, “नियमित र स्वस्थ जीवनशैली, ध्यान, योग, शारीरिक व्यायाम र विशेषज्ञ चिकित्सकसँगको परामर्शमार्फत यसको असर न्यूनीकरण गर्न सकिन्छ।”

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक र नीति निर्माताको सहभागिता रहेको थियो, जसले नयाँ विचार, अनुसन्धानका अवसर र सहकार्यका सम्भावना सिर्जना गर्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट