Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

कस्या टाकुरोमा नागरिकस्तरबाट सरसफाई, पर्यटन सम्भावना पुनः जाग्दै

कस्या टाकुरोमा नागरिकस्तरबाट सरसफाई, पर्यटन सम्भावना पुनः जाग्दै

डडेल्धुरा : पर्यटन क्षेत्रका रूपमा भौतिक संरचना निर्माण गरेर वर्षौंदेखि अलपत्र रहेको डडेल्धुराको प्राकृतिक सौन्दर्यले भरिपूर्ण कस्या टाकुरोमा नागरिकस्तरबाट सरसफाई गरिएको छ। करिब आधा करोड खर्च गरेर अधूरो अवस्थामा छोडिएको उक्त स्थलमा यहाँका ईसाई धर्मावलम्बी युवाहरूले सरसफाई अभियान सञ्चालन गरेका हुन्।

“हरेक दिन, फुर्सद निकालौं एक छिन” भन्ने नारासहित सरसफाई अभियान सञ्चालन गरिएको ईसाई युवा गणेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार कस्या टाकुरो क्षेत्रमा संकलित फोहोर र झारपातहरू जलाइएको छ। बाइबलको उत्पत्ति २:१५ अनुसार ‘मानिसलाई पृथ्वीको हेरचाह गर्न जिम्मेवारी दिएको’ सन्देशबाट प्रेरित भई यो अभियान सुरु गरिएको उनले बताए।

श्रेष्ठका अनुसार अहिले प्लास्टिकजन्य फोहोर हटाइएको र प्राकृतिक रूपमा उम्रिएका झाडीहरू सफा गरिएको छ। साथै टाकुरोमा जाने फलामे गेटमा रङरोगन गर्ने योजना समेत छ।

कस्या टाकुरो अमरगढी नगरपालिका–७, पोखरा बजार माथिको अग्लो डाँडो हो, जहाँबाट अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिका, महाभारत पर्वत श्रृङ्खला, डोटी, आछाम, बैतडी र भारतको उत्तराखण्डसम्मका मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

अमरगढी नगरपालिकाले कस्या टाकुरोलाई दृश्यावलोकन स्थलका रूपमा विकास गर्न आर्थिक वर्ष २०७७/०७८ मा ७२ लाख रुपैयाँ बराबरको बोलपत्र आह्वान गरी केही सिँढी, पर्खाल र रेलिङ निर्माण गरेको थियो। त्यसअघि उपभोक्ता समितिमार्फत ५० हजार रुपैयाँ खर्च गरी बाटोको खाका निर्माण गरिएको थियो। तर २०७८ पछि निर्माण भएका संरचना जिर्ण बन्दै गएका छन्।

स्थानीय दीपकराज भट्टराईका अनुसार टाकुरोमा सडक त पुगे पनि पार्किङ, विश्राम स्थल, चमेना गृह र शौचालयको अभावमा आगन्तुकहरूलाई असुविधा हुँदै आएको छ।

समुद्री सतहदेखि झण्डै ६ हजार ५ सय फिट उचाइमा रहेको कस्या टाकुरोबाट सूर्योदय र सूर्यास्त दुवै दृश्य आकर्षक देखिने भएकाले यो स्थान अवलोकनकर्तामाझ लोकप्रिय थियो। तर पछिल्ला वर्षमा आवश्यक पूर्वाधार नहुँदा आगन्तुकहरूको संख्या घट्दै गएको छ।

इतिहासविद् केशव भण्डारीका अनुसार प्राचीन समयमा कस्या टाकुरोमा राजकोट रहेको विश्वास छ। यहाँ ढुङ्गाको ओखल, सिलौटो र माटोको गांग्राका टुक्रा भेटिनुले मानव बस्ती रहेको संकेत दिन्छ। उनका अनुसार कस्या टाकुरोको ऐतिहासिक र प्राकृतिक मूल्यलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न सके डडेल्धुराको महत्त्वपूर्ण आकर्षण बन्न सक्छ।

डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको बोल्याबाँझ मोडबाट करिब १५ मिनेट पैदल उकालो चढेपछि पुगिने कस्या टाकुरो अझै पनि दृश्यावलोकन र बनभोजका लागि उपयुक्त स्थलको रूपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij