Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

१०९ सामुदायिक विद्यालयको पूर्वाधार विस्तार गर्न ६ अर्ब ५४ करोड बजेट

१०९ सामुदायिक विद्यालयको पूर्वाधार विस्तार गर्न ६ अर्ब ५४ करोड बजेट

सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन भौतिक पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तार गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा ती विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उनले यस योजनालाई शिक्षा क्षेत्रको रूपान्तरणका लागि महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् ।

मन्त्री पोखरेलका अनुसार पहिलो चरणमा ८९ वटा विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ । उक्त रकमबाट विद्यालयहरूमा १२ कोठे तीनतले आधुनिक भवन निर्माण गरिनेछ ।प्रतिविद्यालय करिब छ करोड रुपैयाँ लागत अनुमान गरिएका भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ । यसले विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ ।मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढिरहेको र केहीमा विद्यार्थी अभाव रहेको अवस्थालाई ध्यानमा राखेर ठूला विद्यालयबाट पूर्वाधार सुधारको काम सुरु गरिएको बताए ।

विद्यालयहरूबीच रहेको असमानता घटाउँदै आगामी दिनमा देशभरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे ।सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले सबैलाई यस अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij