रुपन्देही : कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बैंकरोडमा अनुगमनको क्रममा एक व्यवसायीले आफूलाई अन्याय भएको भन्दै आत्मदाहको प्रयास गरेका छन् ।लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले ती व्यवसायीको चामल बोकेको पिकअपमा आवश्यक कागजपत्र नभेटेको र आवश्यक कारबाहीका लागि भन्सार बुझाएपछि गल्ला पसल सञ्चालक महेश अग्रहरीले मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेको स्थानीयले बताएका छन् ।
शरीरभरी मट्टितेल छर्केर आगो लगाउन थालेको बेला प्रहरीले तत्काल जोगाएपछि बेहोस भएका अग्रहरीलाई उपचारका लागि तौलिहवा अस्पताल हुँदै रुपन्देहीको भैरहवास्थित मेडिकल कलेज लगिएको छ ।अग्रहरीले आफूले ल्याएको ६० बोरा चामलको बिल बिजक हुँदाहुँदै चामल नियन्त्रणमा लिइएको दाबी गरेका छन् ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदाप्रसाद चौधरीले प्रहरीको चेकजाँचमा परेका व्यवसायीले मट्टितेल छर्केर शरीरमा आगो लगाउन खोजेको तर प्रहरी र स्थानीयले जोगाएर उपचारका लागि पठाएको नेपाल प्रेसलाई बताए ।
‘प्रहरीले चेकजाँच गरेको हो, पूरै विषय आएको छैन तर उनी आवेश आएर मट्टितेल छर्केर आगो लगाउन खोजेपछि प्रहरीले नै जोगाएको हो । स्थानीय पनि सँगै छन्, शरीरमा आगो लागेको छैन तर मट्टितेलले असर गरेपछि हाम्रो टोलीले भैरहवाको मेडिकल कलेजमा उपचारका लागि लगेको छ’, उनले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij