Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

धितोपत्र बोर्डका कर्मचारीले मागे अध्यक्षको राजीनामा

धितोपत्र बोर्डका कर्मचारीले मागे अध्यक्षको राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनहरूले बोर्ड अध्यक्षको राजीनामा माग गरेका छन् ।शुक्रबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी सङ्गठनका अध्यक्ष राज कुमार पण्डित / नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुङ्गानाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयको पत्रले सिर्जना गरेको विषम परिस्थितिलाई सुल्झाउन नसकेको भन्दै ती सङ्गठनहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

कर्मचारीले पाउँदै आएको सुविधा खोजिने र यसअघि पाएको सुविधा समेत फिर्ता गर्नु पर्ने भन्दै गत असोज २ गते अर्थ मन्त्रालयले पत्र पठाएको थियो । विज्ञप्तिमा अध्यक्ष र सञ्चालक बोर्डले समस्या समाधानका लागि पहल गर्न नसकेको भन्दै राजीनामा दिएर निकास दिनुपर्ने बताएका हुन् ।विज्ञप्तिमा भनिएको छ,'अध्यक्ष र सञ्चालक बोर्डबाट समस्या समाधान केन्द्रित ठोस प्रयास नभएको र अध्यक्षमार्फत सञ्चालक बोर्डबाट कुनै निकास आउने नदेखिएको हुँदा कर्मचारीको हित र सञ्चालक बोर्डको विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसक्ने बोर्ड अध्यक्ष नैतिकताको आधारमा एक मिनेटका लागि सो पदमा बस्न योग्य छैनन् ।'

बोर्ड अध्यक्षले आफ्नो पदबाट राजीनामा दिई मार्ग प्रशस्त नगर्दासम्म बोर्ड अध्यक्षलाई कार्यकक्षमा समेत प्रवेश नदिइने कर्मचारी सङ्गठनहरूले घोषणा समेत गरेका छन् ।विज्ञप्तिमा आन्दोलन जारी रहँदा रहँदै बोर्ड अध्यक्षले कार्तिक १२ गते प्रहरी प्रशासन लगाएर कार्यालय प्रवेश गरेको कार्यप्रति खेद व्यक्त समेत गरिएको छ । ‍‍

यति दिनसम्म जम्मा एक पटक मात्र बैठक बसेको र बैठकमा समेत समस्या समाधानबारे उदासीन भएको भन्दै अध्यक्ष तथा सञ्चालकको भूमिकामाथि समेत उनीहरुले प्रश्न उठाएका छन् ।कर्मचारीहरूले अर्थ मन्त्रालयको निर्णयविरुद्ध बोर्ड संस्थागत रूपमै अदालत जाओस् भन्ने चाहेका छन् । तर बोर्ड न त अदालत जान सकेको छ न त उक्त समस्या समाधान गर्न पहल नै गरेको छ । सङ्घर्ष टुङ्ग्याएर काममा फर्किन आफूहरू लचक भए पनि अध्यक्षबाट समस्या समाधानमा प्रयास नभएको कर्मचारीहरूको आरोप छ ।

कर्मचारीहरूले बाध्यात्मक परिस्थितिका कारण बोर्डको कामकाज ठप्प पार्नुपरेको भन्दै यसबाट सेवाग्राहीमा परेको असरप्रति क्षमायाचना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij