Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

चौधरी–बिकाजी साझेदारी: नवलपरासीमा नयाँ स्न्याक्स फ्याक्ट्रीको शिलान्यास, रोजगारी सिर्जना र उद्योग वृद्धि गर्ने लक्ष्य

चौधरी–बिकाजी साझेदारी: नवलपरासीमा नयाँ स्न्याक्स फ्याक्ट्रीको शिलान्यास, रोजगारी सिर्जना र उद्योग वृद्धि गर्ने लक्ष्य

काठमाडौं : जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक अन्यौलता, आर्थिक अनिश्चितता र निजी क्षेत्रले भोगिरहेको चुनौतीपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्र्याएको छ। चौधरी ग्रुपको एफएमसीजी कम्पनी, सीजी फुड्स, भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरेको छ।

बुधबार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरेका हुन्। समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पनि उपस्थित थिए।

हालैको जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका विभिन्न व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भएको थियो। सीजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्र ध्वस्त बनाइएको साथै ग्रुप अध्यक्ष विनोद चौधरीको निजी निवासमा पनि आगजनी भएको थियो। यस घटनापछि प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालप्रतिको ग्रुपको प्रतिबद्धता कम नहुने र नयाँ सोचका साथ आर्थिक विकासमा योगदान दिने संकेत गरेका थिए।

बिकाजीसँगको सहकार्यमा निर्माण हुन लागेको फ्याक्ट्रीमा भुजिया, नमकीन लगायतका लोकप्रिय स्न्याक्स उत्पादन हुनेछन्। यस पहलले नेपालमा खाद्य उद्योगलाई नयाँ गति दिने, आयातमा निर्भरता घटाउने र विश्वस्तरीय उत्पादन नेपाली बजारमा उपलब्ध गराउने विश्वास दुवै कम्पनीले व्यक्त गरेका छन्।

फ्याक्ट्रीको पहिलो चरणमा करिब ५० करोड रूपैयाँको लगानी हुने र करिब ४०० रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। प्रबन्ध निर्देशक वरुण चौधरीले भने, “नेपालको अर्थतन्त्रलाई नयाँ ऊर्जा आवश्यक रहेको समयमा हामीले नयाँ क्षेत्रमा लगानी गर्दैछौँ। यसले नेपालप्रति चौधरी ग्रुपको गहिरो प्रतिबद्धता देखाउँछ।”

यस प्लान्टले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै, स्थानीय किसान र आपूर्तिकर्तालाई लाभ पुर्‍याउने र नवलपरासीसहित आसपासका ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता ल्याउने विश्वास गरिएको छ।

चौधरी ग्रुपअन्तर्गत रहेको सीजी फुड्स नेपालको अग्रणी फुड उत्पादक कम्पनी हो। यसको उत्पादन ६३ देशमा वितरण भएको छ। विश्वभर चर्चित ‘वाइ वाइ’ ब्रान्डको निर्माता सीजी फुड्स अब नयाँ उत्पादन वर्गमा विस्तार गर्दै नवप्रवर्तन, रोजगारी सिर्जना र राष्ट्रिय औद्योगिकीकरणमा योगदान पुर्‍याइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij